
काठमाडौं, साउन ११:काठमाडौं उपत्यका र धादिङलाई जोड्ने मुलुककै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। करिबरु २९ अर्बको लागतमा निर्माण सम्पन्न भएको सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्रीसुनिल लम्साल, नेपालका लागि जापानी राजदूतमायदा तोरुतथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षडा. तानाका अकिहिकोले संयुक्त रूपमा गरेका हुन्।
विसं २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्रीकेपी शर्मा ओलीले शिलान्यास गरेको आयोजना करिब सात वर्ष तथा निर्माण सुरु भएको ८० महिनापछि सञ्चालनमा आएको हो। सुरुङमार्ग निर्माणका लागि जापान सरकारको करिबरु २१.५ अर्बसहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको करिबरु ६ अर्बलगानी गरिएको छ।
पहिलो चरणमा आपत्कालीन सवारी मात्र
उद्घाटनसँगै सुरुङमार्ग पहिलो चरणमा आपत्कालीन सेवाका सवारीसाधनका लागि मात्रै खुला गरिएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशकसौजन्य नेपालका अनुसार पहिलो दिन एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। त्यसपछि आवश्यक परीक्षण र व्यवस्थापन पूरा गर्दै निजी तथा सार्वजनिक सवारीसाधनलाई पनि चरणबद्ध रूपमा सञ्चालनको अनुमति दिइनेछ।
सवारी सञ्चालनका लागि विशेष मापदण्ड
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्कसमेत निर्धारण गरिएको छ। शुल्क संकलनका लागि रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) प्रविधिमा आधारितएन–ट्यागप्रणाली लागू गरिएको छ। हाल एक हजार, दुई हजार र पाँच हजार रुपैयाँका एन–ट्याग उपलब्ध गराइएको आयोजनाले जनाएको छ।
सुरुङमार्गमा पैदलयात्री, साइकल, दुईपांग्रे, तीनपांग्रे तथा अन्य गैर–मोटरयुक्त सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ। त्यसैगरी डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील तथा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई पनि सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।
पाँच वर्ष सञ्चालन, एक वर्ष जापानी कम्पनीले मर्मत गर्ने
आयोजनाअनुसार सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापन पाँच वर्षसम्मयुसिन–एआरटी जेभीले गर्नेछ। सुरुङको मर्मतसम्भारको जिम्मेवारी भने पहिलो एक वर्ष जापानी कम्पनीहाज्मा एन्डो कर्पोरेसनले सम्हाल्नेछ।
मन्त्री लम्सालको नाममा उद्घाटनको अभिलेख
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पदभार सम्हालेको चार महिनामै नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग उद्घाटन गर्ने अवसर पाएका छन्। उद्घाटनपछि सुरुङमार्गमा राखिएको नयाँ सुनौलो शिलालेखमा मन्त्री लम्सालको नाम अभिलेख गरिएको छ।
शिलालेखमा"माननीय पूर्वाधार विकासमन्त्री श्री सुनिल लम्सालज्यूद्वारा नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गको समुद्घाटन सम्पन्न भयो"भन्ने व्यहोरा उल्लेख गरिएको छ। उद्घाटन समारोहमा जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोले मन्त्री लम्सालसँगै रिबन काटेर सुरुङमार्ग उद्घाटन गरेका थिए।
आयोजनास्थलमा नेपाल र जापानको झण्डासहित अर्को शिलालेख पनि राखिएको छ। यद्यपि, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको अभिलेख भने आयोजनास्थलमा राखिएको छैन। आयोजनासँग सम्बन्धित स्रोतका अनुसार शिलान्यासका बेला राखिएको पुरानो शिलालेख पछि हटाएर सडक विभागमा राखिएको थियो।
काठमाडौंको ट्राफिक व्यवस्थापनमा ठूलो राहतको अपेक्षा
थानकोट–नागढुंगा खण्डमा वर्षौंदेखि हुने सवारी जाम कम गर्ने उद्देश्यले निर्माण गरिएको सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा प्रवेश गर्ने तथा बाहिरिने सवारीसाधनको आवागमन सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी मालवाहक तथा लामो दूरीका सवारीसाधनलाई नागढुंगा नाकामा हुने घण्टौंको जामबाट राहत मिल्ने विश्वास गरिएको छ।
सरकारले परीक्षण अवधिपछि सुरुङमार्गलाई पूर्ण रूपमा निजी तथा सार्वजनिक सवारीसाधनका लागि सञ्चालनमा ल्याउने तयारी गरेको छ। नेपालको सडक पूर्वाधार विकासमा यो आयोजना कोसेढुंगा मानिएको छ भने आधुनिक सुरुङ प्रविधिको प्रयोगमार्फत मुलुकको यातायात प्रणालीलाई नयाँ चरणमा प्रवेश गराएको रूपमा यसको महत्वलाई हेरिएको छ।





Facebook Comments