
काठमाडौँ ।नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत आफ्नो विधान संशोधन गर्दै केन्द्रीय विभागसम्बन्धी व्यवस्थामा महत्त्वपूर्ण परिवर्तन गरेको छ। नयाँ व्यवस्थाअनुसार अब साविकको विधानमा तोकिएको २८ वटा विभागको निश्चित संख्या हटेको छ भने विभागका सदस्य संख्या घटाइएको छ।
संशोधित विधानको धारा ३७ (१) (क) मा‘केन्द्रमा तोकिएबमोजिमका केन्द्रीय विभागहरूको गठन हुनेछ’भन्ने व्यवस्था राखिएको छ। यसअघि केन्द्रीय कार्यसमिति सदस्य प्रमुख रहने गरी स्पष्ट रूपमा २८ वटा विभाग रहने संवैधानिक प्रावधान थियो।
विभाग गठन र संरचनामा प्रमुख परिवर्तनहरू:
सदस्य संख्या घटाइयो:यसअघि प्रत्येक विभागमा बढीमा ५१ जना सदस्य रहने व्यवस्था रहेकोमा अब संशोधनपछि विभागको आकार घटाइ बढीमा २५ जनामा सीमित गरिएको छ।
सभापतिलाई मनोनयनको अधिकार:परिमार्जित विधानले केन्द्रीय सभापतिलाई विभागका प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरू नियुक्ति गर्ने अधिकार प्रदान गरेको छ।
प्रमुखको योग्यता अस्पष्ट:साविकको विधानमा विभागको नेतृत्व केन्द्रीय कार्यसमितिका सदस्यले मात्रै गर्न पाउने प्रस्ट व्यवस्था थियो। तर, नयाँ संशोधनमा विभाग प्रमुखको योग्यताबारे केही खुलाइएको छैन। उपप्रमुख, सचिव र सदस्य बन्न भने पार्टीको क्रियाशील सदस्य हुनुपर्नेछ।
प्रशिक्षण प्रतिष्ठानमा सदस्य संख्या वृद्धि
कांग्रेसले विधानको धारा ३६ (ग) मा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसम्बन्धी व्यवस्थामा पनि परिमार्जन गरेको छ।
नयाँ प्रावधानअनुसार प्रतिष्ठान प्रमुखले केन्द्रीय सभापतिसँगको परामर्शमा प्रदेश उपसभापतिहरू र क्रियाशील सदस्यहरूमध्येबाट बढीमा ६१ जनालाई सदस्यमा नियुक्त गर्न पाउनेछन्। यसअघि प्रतिष्ठानमा बढीमा ५१ जना सदस्य रहने व्यवस्था थियो।
विभागको नाम र निश्चित संख्या हटाइए पनि अन्य उपधाराहरू भने यथावत् राखिएका छन्।








Facebook Comments