सुनसरीसहित विभिन्न जिल्लामा पछिल्ला दिनमा भएका हिंसात्मक तथा संवेदनशील घटनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्तिका पक्षमा सात बुँदे संयुक्त अपिल जारी गरेको छ। बैठकले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ भने घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकलाई संयमता अपनाउन तथा संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ।

बैठकले नेपालको विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्वलाई कमजोर बनाउने कुनै पनि गतिविधिबाट टाढा रहन अपिल गर्दै आवेग, उत्तेजना र प्रतिशोधले समस्या झन् जटिल बनाउने भएकाले सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरेको छ। लोकतान्त्रिक प्रणालीमा असन्तुष्टि र विवादको समाधान शान्तिपूर्ण संवादबाट मात्र सम्भव हुने भन्दै आफ्ना माग कानुनी र शान्तिपूर्ण माध्यमबाट अघि बढाउन आग्रह गरिएको छ।

संयुक्त वक्तव्यमा केन्द्रको प्रयास मात्र पर्याप्त नहुने निष्कर्ष निकाल्दै प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्न सम्बन्धित पार्टी समितिहरूलाई निर्देशन दिइएको छ। सामाजिक सञ्जालमा फैलिने अफवाह, भ्रामक सूचना र घृणायुक्त अभिव्यक्तिप्रति सचेत रहन तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित र जिम्मेवार समाचार सम्प्रेषण गर्न पनि बैठकले आग्रह गरेको छ। साथै सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न, पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ।

सर्वदलीय बैठकपछि नेताहरूले दिएको प्रतिक्रियामा भने सरकारको संकट व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न उठाइएको छ। अधिकांश नेताहरूले संवेदनशील अवस्थामा प्रधानमन्त्रीले राजनीतिक नेतृत्व देखाउन नसकेको टिप्पणी गरेका छन्।

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह सामाजिक सञ्जालको अभिव्यक्तिमा मात्र सीमित नभई सर्वदलीय बैठक बोलाउने, राष्ट्रपतिसँग परामर्श गर्ने र प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी नेतृत्व देखाउनुपर्ने बताए। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पनि सरकारले शान्ति र सद्भाव कायम गर्न अपेक्षित गम्भीरता नदेखाएको भन्दै सबै दलले संयुक्त विज्ञप्तिमार्फत शान्तिको पक्षमा उभिने सहमति भएको जानकारी दिए।

एमाले महासचिव शंकर पोखरेलले यस्ता संवेदनशील परिस्थितिमा सर्वदलीय बैठक सरकारले नै बोलाउनुपर्ने धारणा राख्दै सुरक्षा निकायको मनोबल कमजोर हुन नदिन स्पष्ट राजनीतिक निर्देशन र पर्याप्त स्रोत–साधन आवश्यक रहेको बताए।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय संकटका बेला साझा राजनीतिक नेतृत्वको आवश्यकता औंल्याए भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विशेषगरी तराई–मधेसमा धार्मिक पर्वका समयमा दोहोरिने तनावको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरे।

बैठकका संयोजक तथा रास्वपा सभापति रवि लामिछानेले सबै दलको साझा अपिल छिट्टै सार्वजनिक गरिने र सरकारलाई राजनीतिक दलका सुझाव गम्भीर रूपमा लिन आग्रह गरिने बताए। उनले प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको भन्दै अहिले नै निष्कर्षमा पुग्न नहुने धारणा पनि राखे।

सर्वदलीय बैठकले तत्कालका लागि राष्ट्रिय एकता, सामाजिक सद्भाव र संवादमार्फत समस्या समाधान गर्नुपर्ने साझा सन्देश दिएको छ। तर बैठकपछि सबैजसो दलबाट उठेको साझा प्रश्न भने सरकारको नेतृत्व, समन्वय र संकट व्यवस्थापन क्षमतामाथि केन्द्रित देखिएको छ। अब सरकारले संवादलाई प्राथमिकता दिन्छ वा सुरक्षा रणनीतिमै सीमित रहन्छ, त्यसले आगामी राजनीतिक तथा सामाजिक परिस्थितिको दिशा तय गर्नेछ।