काठमाडौं ।नेपाली कांग्रेस यतिबेला विभाजनको जोखिम र एकताको प्रयासबीचको संवेदनशील मोडमा पुगेको छ। संस्थापन इतर समूहले राष्ट्रिय भेला र संगठनात्मक गतिविधिलाई तीव्र बनाइरहेका बेला सभापति गगन थापाले पार्टी फुट रोक्न शीर्ष नेतासँग प्रत्यक्ष संवादको तयारी थालेका छन्। पार्टीभित्र बढ्दो अविश्वास, नेतृत्वबीचको शक्ति संघर्ष र संगठनात्मक विवादका कारण आगामी केही दिन कांग्रेसको भविष्यका लागि निर्णायक बन्ने देखिएको छ।

विवाद समाधानका लागि यसअघि कार्यदलमार्फत सहमति खोज्ने प्रयास भए पनि त्यसले ठोस निष्कर्ष दिन सकेन। त्यसपछि संस्थापन इतर पक्षका नेताहरूले अब कार्यदलभन्दा शीर्ष नेतृत्वबीचको प्रत्यक्ष संवादबाट मात्रै निकास सम्भव हुने निष्कर्ष निकालेका छन्। यही परिस्थितिमा सभापति थापाले संस्थापन इतर पक्षका प्रमुख नेता डा. शेखर कोइराला र निवर्तमान उपसभापति पूर्णबहादुर खड्कासँग छुट्टाछुट्टै तथा संयुक्त छलफल गर्ने तयारी गरेका हुन्। दुवै नेतासँग समय मिलाउने प्रयास भइरहेको र एक–दुई दिनभित्र संवाद हुने अपेक्षा गरिएको छ।

स्रोतका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको संरचनामा परिवर्तन गर्ने विषयमा सभापति थापा लचिलो छैनन्। तर त्यसबाहेकका संगठनात्मक र राजनीतिक विषयमा सहमति खोज्न उनी सकारात्मक रहेको बताइएको छ। विशेषगरी १५औँ महाधिवेशन आयोजक समिति, निर्वाचन समिति, क्रियाशील सदस्यता समिति, विधान संशोधन समिति लगायतका संरचनामा संस्थापन इतर पक्षलाई सम्मानजनक सहभागिता गराउने विषयमा छलफल अघि बढाउने तयारी छ। यसलाई पार्टीभित्र बढ्दो असन्तुष्टि कम गर्ने प्रयासका रूपमा हेरिएको छ।

यता संस्थापन इतर समूहले भने आफ्ना गतिविधि थप आक्रामक बनाएको छ। साउन १६ गते पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसँगै ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। यसले इतर पक्ष आफ्ना मागप्रति दबाब बढाउने रणनीतिमा रहेको स्पष्ट संकेत दिएको छ।

कार्यदलमा सहभागी हुनेभन्दा राष्ट्रिय भेला सफल बनाउने रणनीतिमा लागेको इतर पक्षले नेतृत्वबाट स्पष्ट राजनीतिक प्रतिबद्धता नआएसम्म औपचारिक सहमतिमा नपुग्ने अडान लिएको छ। इतर पक्षका नेताहरूका अनुसार अहिलेको विवाद समाधान गर्ने जिम्मेवारी कार्यदलको भन्दा शीर्ष नेतृत्वको राजनीतिक इच्छाशक्तिमाथि निर्भर छ।

संस्थापन इतर समूहका प्रचार–प्रसार समितिका संयोजक मिन विश्वकर्माले पनि पार्टी एकताको सम्भावना सभापति गगन थापाको निर्णय र पहलमा निर्भर रहेको बताएका छन्। नेतृत्वले विश्वासको वातावरण निर्माण गर्न सके सहमतिको आधार बन्ने, अन्यथा विभाजनको जोखिम बढ्ने उनको भनाइ छ।

यसैबीच पार्टीभित्र विभाजन रोक्न विभिन्न तहबाट एकताको दबाब पनि बढ्दै गएको छ। युवा नेता, स्थानीय तहका जनप्रतिनिधि र पूर्वपदाधिकारीहरूले सार्वजनिक रूपमा पार्टी एकताको पक्षमा अभियान चलाइरहेका छन्। उनीहरूले व्यक्तिगत स्वार्थभन्दा पार्टीको दीर्घकालीन हितलाई प्राथमिकता दिन नेतृत्वलाई आग्रह गरेका छन्।

कांग्रेसबाट निर्वाचित पालिका प्रमुखहरूले पनि साउन २७ गते राष्ट्रिय भेला आयोजना गरी पार्टीलाई एकताबद्ध राख्न नेतृत्वमाथि दबाब दिने तयारी गरेका छन्। स्थानीय तहका जनप्रतिनिधिको सक्रियताले पार्टीभित्रको विवाद अब शीर्ष नेतृत्वमा मात्रै सीमित नरहेको देखाएको छ।

संस्थापन इतर पक्षका नेता डा. शेखर कोइरालाले पनि एकता दबाब अभियानले सकारात्मक संवादको वातावरण निर्माण गरेको बताएका छन्। उनका अनुसार अहिले सबैभन्दा आवश्यक कुरा संवादलाई निरन्तरता दिनु र सहमतिको वातावरण बनाउनु हो।

राजनीतिक विश्लेषकहरूका अनुसार नेपाली कांग्रेस अहिले दुई समानान्तर दिशामा अघि बढिरहेको छ। एकातिर राष्ट्रिय भेला र शक्ति प्रदर्शनमार्फत विभाजनको सम्भावना बलियो बन्दै गएको देखिन्छ भने अर्कोतर्फ पार्टीभित्र र बाहिरबाट एकता कायम राख्न दबाब पनि बढिरहेको छ। त्यसैले सभापति गगन थापा, डा. शेखर कोइराला र पूर्णबहादुर खड्काबीच हुने भनिएको संवादले कांग्रेसको आगामी राजनीतिक दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।

संवाद सफल भए पार्टीभित्रको संकट व्यवस्थापन हुने सम्भावना रहनेछ। तर सहमति जुट्न नसके राष्ट्रिय भेला, समानान्तर गतिविधि र बढ्दो ध्रुवीकरणले नेपाली कांग्रेसलाई औपचारिक विभाजनतर्फ धकेल्न सक्ने आकलन राजनीतिक वृत्तमा गरिएको छ।