काठमाडौंस्थित बंगलादेश दूतावासले बुधबार बंगलादेशको ऐतिहासिक जुलाई जनविद्रोहको दोस्रो वर्षगाँठको अवसरमा ‘जुलाई मास अपराइजिङ डे’ मनाएको छ।

कार्यक्रममा बंगलादेश राष्ट्रिय विश्वविद्यालयका उपकुलपति प्रा. डा. एएसएम अमानुल्लाह प्रमुख अतिथि तथा सार्कका महासचिव राजदूत मोहम्मद गोलाम सरवर विशेष अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा नेपालस्थित बंगलादेशी समुदाय, सार्क सचिवालय, आईसीमोड, नागरिक समाज, थिंक ट्याङ्क तथा नेपाली युवापुस्ताका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

एक मिनेट मौनधारण, श्रद्धाञ्जली, वृत्तचित्र प्रदर्शन तथा विशेष प्रार्थनामार्फत जुलाई विद्रोहका सहिदहरूलाई सम्मान गरिएको थियो।

वक्ताहरूले सन् २०२४ को जुलाई–अगस्ट जनआन्दोलनले सुशासन, लोकतन्त्र, विधिको शासन र जनअधिकारको पक्षमा नयाँ अध्याय सुरु गरेको उल्लेख गर्दै लोकतान्त्रिक प्रक्रिया, बलियो संस्था र क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दिन रहमानले ‘बंगलादेश फर्स्ट’ नीतिअन्तर्गत जनताको हितलाई केन्द्रमा राखेर समृद्ध र आत्मनिर्भर बंगलादेश निर्माणको अभियान अघि बढिरहेको बताएका थिए। कार्यक्रमको अन्त्यमा जुलाई जनविद्रोहमा ज्यान गुमाउने तथा घाइते भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।