धनगढी।कैलालीमा नेपाली सेनाको नियमित सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा दुई जना सैनिक घाइते भएका छन्। घाइते सैनिकहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि हवाईमार्गबाट काठमाडौं पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–४ स्थित वनदेवी फायरिङ रेन्जमा नेपाली सेनाको देवीदल गण, तेघरी ब्यारेकद्वारा सञ्चालन गरिएको सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट भएको हो। तालिमका क्रममा अचानक भएको विस्फोटमा सहायक सेनानी ३० वर्षीय विक्रम कार्की र २० वर्षीय सैनिक रञ्जित थारु घाइते भएका हुन्।

प्रहरीका अनुसार विस्फोटबाट दुवै सैनिकको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरूको अवस्था मध्यम रहेको र जीवन जोखिममा नरहेको जनाइएको छ।

घटनापछि घाइते दुवैलाई तत्काल उद्धार गरी धनगढीस्थित बोराडाँडीमा प्रारम्भिक उपचार गरिएको थियो। थप विशेषज्ञ उपचार आवश्यक देखिएपछि नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौंस्थित सैनिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घटना कसरी भयो भन्ने विषयमा नेपाली सेनाले आन्तरिक रूपमा अनुसन्धान गरिरहेको बताइएको छ। तालिमका क्रममा सुरक्षा मापदण्ड अपनाइए पनि ग्रिनेड विस्फोटको वास्तविक कारण खुल्न बाँकी रहेको छ।

नेपाली सेनाले नियमित रूपमा विभिन्न फायरिङ रेन्जमा सैनिकहरूको युद्धक क्षमता अभिवृद्धिका लागि हतियार तथा विस्फोटक पदार्थ प्रयोगसम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ।