
काठमाडौं।भदौ ७ देखि १३ गतेसम्म काठमाडौंमा आयोजना हुने तय भएको तिब्बती अध्ययनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सरकारले अन्तिम समयमा स्थगित गर्न निर्देशन दिएको छ। चार वर्षदेखि तयारी भइरहेको सम्मेलन सरकारको निर्देशनपछि अन्योलमा परेको हो।
सम्मेलनमा ३९ देशका तिब्बत अध्ययनसम्बन्धी विज्ञ तथा अनुसन्धानकर्तालाई निमन्त्रणा गरिएको थियो। हालसम्म १५ देशका प्रतिनिधिले सहभागिता सुनिश्चित गरिसकेका थिए भने चीनबाट पनि एक सयभन्दा बढी प्राध्यापक आउने तयारी रहेको बताइएको छ।
स्रोतका अनुसार केही समयअघि चिनियाँ राजदूतले परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गरेका थिए। यद्यपि उक्त भेटमा सम्मेलनप्रति कुनै औपचारिक आपत्ति नजनाइएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। त्यसपछि मुख्यसचिव गोविन्दबहादुर कार्कीले काठमाडौं विश्वविद्यालयका अधिकारीलाई फोनमार्फत सम्मेलन स्थगित गर्न निर्देशन दिएको बताइएको छ।
काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार राजीव श्रेष्ठले सरकारबाट सुनसरी घटनालाई कारण देखाउँदै कार्यक्रम रोक्न भनिएको जानकारी दिएका छन्। उनका अनुसार सम्मेलनका सम्पूर्ण तयारी पूरा भइसकेका थिए र सरकारको निर्देशनपछि यसबारे थप छलफल भइरहेको छ।
परराष्ट्र मन्त्रालयका एक स्रोतले भने सम्मेलन स्थगित गर्न चीनलाई कारण बनाउनु आवश्यक नरहेको बताउँदै सरकारको निर्णयको वास्तविक कारणबारे स्पष्टता आवश्यक रहेको जनाएको छ।







Facebook Comments