काठमाडौं।सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको तलब वृद्धिअनुसार राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार नयाँ तलबमान २०८३ साउन १ गतेदेखि लागू हुने भएको हो।
अर्थ मन्त्रालयका अनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान लागू गरिएको छ।
नयाँ व्यवस्थाअनुसार मुख्यसचिव र प्रधानसेनापतिको मासिक तलब ९० हजार ५ सय ९४ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक तथा नेपाल सरकारका सचिवहरूको तलब ८४ हजार ५ सय ७६ रुपैयाँ पुगेको छ।
सबैभन्दा तल्लो तहका कार्यालय सहयोगी, हल्कारा र हुलाकीलगायत श्रेणीविहीन कर्मचारीको मासिक तलब २८ हजार ९ सय ८४ रुपैयाँ कायम गरिएको छ।
सरकारले नयाँ तलबमानसँगै कर्मचारीलाई मासिक तलबको १० प्रतिशत प्रोत्साहन भत्ता दिने व्यवस्था पनि गरेको छ। सामुदायिक विद्यालयका माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब ७४ हजार ९ सय ५८ रुपैयाँ तथा प्राथमिक तहका शिक्षकको न्यूनतम तलब ३४ हजार ४ सय २६ रुपैयाँ पुगेको छ। स्वास्थ्य सेवाका अधिकृत बाह्रौँ तहको तलब ८४ हजार ५ सय ७६ रुपैयाँ कायम गरिएको छ।
यसैगरी, अवकाशप्राप्त कर्मचारीहरूको पेन्सनमा पनि १० प्रतिशत वृद्धि गरिएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयले सबै सरकारी निकायलाई नयाँ तलबमानअनुसार भुक्तानी गर्न निर्देशन दिइसकेको छ।







Facebook Comments