काठमाडौं ।सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकलेसुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादवलाई सहिद घोषणा गर्नेनिर्णय गरेको हो।

प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूलाई सहिद घोषणा गर्नुपर्ने माग यसअघि सम्बन्धित क्षेत्रबाट उठ्दै आएको थियो। सरकारले उक्त मागलाई सम्बोधन गर्दै चारै जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।

को–को भए सहिद ?

  • ओमप्रकाश मेहता — सुनसरी

  • जयप्रकाश मेहता — सुनसरी

  • रबिन्द्र कुमार मेहता — सुनसरी

  • गणेश कुमार यादव — सिराहा

सरकारको निर्णयसँगै प्रदर्शनका क्रममा ज्यान गुमाएका परिवारले आफ्ना आफन्तलाई औपचारिक रूपमा सहिदको मान्यता पाउने भएका छन्। सहिद घोषणा सरकारले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति राज्यको औपचारिक सम्मानका रूपमा गरेको निर्णय हो।

यसैबीच मन्त्रिपरिषद् बैठकले अन्य महत्वपूर्ण निर्णयसमेत गरेको छ।

बैठकलेनेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिनेनिर्णय गरेको छ।

त्यस्तै,पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिनेनिर्णय भएको छ।

मन्त्रिपरिषद्लेवैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्नेनिर्णय पनि गरेको छ।

त्यसैगरी, पूर्वमहालेखापरीक्षकटङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्नेनिर्णय गरेको छ।

यससँगै मन्त्रिपरिषद् बैठकका पाँच निर्णयमध्ये प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय सबैभन्दा महत्वपूर्ण निर्णयका रूपमा आएको छ।