
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा झन्डै साढे पाँच महिनापछि स्वदेश फर्किएका छन्। लामो स्वास्थ्य उपचारपछि बिहीबार बैंकक हुँदै काठमाडौं आइपुगेका देउवालाई नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित स्वागत गरेका छन्।
देउवालाई स्वागत गर्न कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत, विमलेन्द्र निधीलगायतका नेता विमानस्थल पुगेका थिए। विमानस्थलबाट सुरक्षाकर्मीको स्कर्टिङसहित देउवा चुनदेवीस्थित निवास पुगेका छन्। जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएपछि देउवा परिवार अस्थायी रूपमा चुनदेवीमा बस्दै आएको छ।
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि समेत आक्रमण भएको थियो। त्यसपछि उपचारका लागि सिंगापुर पुगेका देउवा पछिल्लो समय थप उपचारका क्रममा हङकङमा थिए। उनी फागुनदेखि सिंगापुर र हङकङमा उपचाररत थिए। हङकङबाट थाइल्याण्डको बैंकक हुँदै बिहीबार नेपाल फर्किएका हुन्।
स्वदेश फर्किएलगत्तै देउवाले आफू पाँच महिनाको उपचारपछि नेपाल फर्किन पाउँदा खुसी भएको बताएका छन्। स्वास्थ्यप्रति चासो र चिन्ता राख्ने सबैलाई धन्यवाद दिँदै उनले आफू कुनै पद वा शक्ति प्राप्तिका लागि नभई देश र जनताको सेवाका लागि फर्किएको सन्देश दिएका छन्।
देउवाले जारी गरेको अपिलमा आफूलाई ‘विनम्र सेवक’का रूपमा प्रस्तुत गर्दै सुन्ने, सिक्ने र समुन्नत मुलुक निर्माणको यात्रामा समर्पित हुने प्रतिबद्धता जनाएका छन्। उनले आफू ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न’ फर्किएको स्पष्ट पारेका छन्।
देउवाको अपिलको मुख्य सन्देश भने कांग्रेसभित्रको एकता र राष्ट्रिय सहकार्यमा केन्द्रित छ। पार्टीभित्र देखिएको असहमति र निराशा तत्काल सम्बोधन गर्नुपर्ने भन्दै उनले कांग्रेस एकताबद्ध भएर अन्य राजनीतिक दलसँग समेत सहमति र सहकार्यका साथ अघि बढ्नुपर्ने बताएका छन्।
‘मुलुककै मियो दलमा विवाद हुँदा मुलुकको राष्ट्रियता नै कमजोर हुनसक्छ’ भन्दै देउवाले कांग्रेसलाई कुनै व्यक्तिको इगोभन्दा माथि उठेर जनताको सर्वोपरि हितलाई केन्द्रमा राख्न आग्रह गरेका छन्। नेता–कार्यकर्ता, शुभेच्छुक, समर्थक र मतदातालाई त्याग, बलिदान र संघर्षको भावनासहित सामूहिक रूपमा अघि बढ्न पनि उनले अपिल गरेका छन्।
देउवाले पछिल्लो राजनीतिक परिस्थितिप्रति पनि टिप्पणी गरेका छन्। ताजा जनमतबाट बनेको सरकारले जनताको मतको सम्मान गर्न नसकेको र राजनीतिक आग्रह–पूर्वाग्रहमा केन्द्रित भएको आरोप लगाउँदै उनले जनताको अपेक्षा पूरा गर्न सरकार असफल भएको बताएका छन्।
युवा पुस्तामा देखिएको परिवर्तनको तीव्र चाहना र मौन पीडालाई कांग्रेसले गम्भीर रूपमा बुझ्नुपर्ने देउवाको भनाइ छ। बदलिँदो समयअनुसार कांग्रेसलाई पनि रूपान्तरण गर्दै लैजानुपर्ने तथा नयाँ पुस्ताको सिर्जनशील क्षमता र आकांक्षालाई सम्मान गर्नुपर्ने उनले बताएका छन्। साथै विगतका त्याग र बलिदानलाई पनि बिर्सन नहुने भन्दै नयाँ र पुरानो पुस्ताबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।
देउवाले २०३३ सालमा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक प्रसंगसमेत स्मरण गरेका छन्। अहिले पनि मुलुकलाई सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको भन्दै उनले राष्ट्रियता, लोकतन्त्र र संविधानको संरक्षणका लागि सबै राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
संविधानको संरक्षणसँगै आवश्यक संशोधन पनि राष्ट्रिय सहमतिका आधारमा मात्र हुनुपर्ने देउवाको अडान छ। लोकतन्त्र, संविधान, नागरिक अधिकार र विधिको शासनका विषयमा कांग्रेसले कहिल्यै सम्झौता नगर्ने उनले दोहोर्याएका छन्।
लामो समय उपचारमा रहेर स्वदेश फर्किएका देउवाले पार्टीभित्र देखिएको निराशा हटाउँदै कार्यकर्ताको मनोबल बढाउन आफू सक्रिय हुने संकेतसमेत गरेका छन्। कांग्रेसको ऐतिहासिक दायित्व अझै पूरा नभएको भन्दै उनले पार्टीलाई थप सुदृढ बनाउन सबै एकजुट हुनुपर्ने बताएका छन्।
आफूलाई अब कुनै व्यक्तिगत लाभ वा पदको आवश्यकता नरहेको स्पष्ट पार्दै देउवाले जीवनको बाँकी समय राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सेवामा समर्पित गर्ने प्रतिबद्धता जनाएका छन्। ‘नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको’ भन्दै उनले आफूलाई सेवामा समर्पित गर्ने सन्देश दिएका छन्।
यससँगै, झन्डै साढे पाँच महिनापछि देउवाको स्वदेश फिर्ती केवल स्वास्थ्य उपचारपछि भएको घरफिर्तीमा सीमित नभई कांग्रेसभित्रको एकता, बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीको भूमिकादेखि राष्ट्रिय सहमतिसम्मको बहसलाई पुनः सतहमा ल्याउने घटनाका रूपमा समेत हेरिएको छ।






Facebook Comments