एउटै पार्टी, एउटै गुट र हिजोका निकट सहयात्री; तर आज परिस्थिति ठीक उल्टो बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहको समूहमा बलियो मानिएका गृहमन्त्री सुधन गुरुङ र सांसद खगेन्द्र सुनारबीचको आन्तरिक मनमुटाव अब पार्टीको बन्द कोठामा मात्र सीमित रहेन। प्रहरी प्रशासन र नेतृत्वको विषयलाई लिएर संसदीय समितिहरूमै उनीहरू आमनेसामने भएपछि दुई नेताबीचको गहिरिँदो सामीप्य र तीतो पोखिन पुगेको छ।

विवादको सुरुवात गत बुधबार सार्वजनिक लेखा समितिको बैठकबाट भएको थियो। प्रहरीको पोसाक तथा सामग्री खरिदमा अनियमितता भएको विषय उठाउँदै रास्वपा सांसद खगेन्द्र सुनारले गृह प्रशासन र नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्कीसहित उच्च अधिकारीहरूमाथि खरो आक्रमण गरे। गृहमन्त्रीको अनुपस्थितिमा भएको उक्त बैठकमा सुनारले उजुरीकै भरमा प्रहरी प्रमुखलाई 'राइट नाउ' बर्खास्ती र निलम्बनको माग गर्दै कठघरामा उभ्याउनुपर्ने कडा अडान राखेका थिए। नैतिकताको दुहाई दिँदै आफ्नै सरकारको गृह प्रशासनविरुद्ध सांसद सुनारले अपनाएको आक्रामक शैलीले राजनीतिक वृत्तमा निकै तरङ्ग ल्याएको थियो।

आफ्ना प्रशासनिक प्रमुख र मन्त्रालयमाथि भएको यस प्रकारको प्रहारप्रति गृहमन्त्री सुधन गुरुङ चुप भने बसेनन्। दुई दिनपछि शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा पुगेर मन्त्री गुरुङले आफ्नै दलका सांसद सुनारको अभिव्यक्तिप्रति तीव्र असन्तुष्टि पोखे। उजुरी पर्दैमा कसैलाई दोषी करार गरेर आफैँ 'न्यायाधीश' बन्न नमिल्ने भन्दै गृहमन्त्रीले"दिस इज नट राइट, दिस इज नट गुड"भन्दै सुनारको कदमको सार्वजनिक रूपमै भत्सर्ना गरे। दिनरात खटेर सरकारको 'स्पिरिट' अनुसार काम गरिरहेका कर्मचारी र प्रहरी नेतृत्वको चरित्र हत्या गर्ने प्रयास मन्त्रालयलाई स्वीकार्य नहुने र यसबाट आफूहरू दुःखी भएको सन्देश उनले दिए।

प्रहरी खरिद प्रकरण त केवल एउटा माध्यम मात्र बनेको देखिन्छ, यसको पछाडि दुई नेताबीच गहिरिँदै गएको आन्तरिक असमझदारी मुख्य कारण रहेको चर्चा हुन थालेको छ। संसदीय समितिको औपचारिक मञ्चमै आफ्नै मन्त्री र सांसद यसरी आरोप-प्रत्यारोप र जुहारीमा उत्रिएपछि रास्वपाभित्रको गुटगत सन्तुलन, समन्वय र संसदीय अनुशासनमाथि समेत गम्भीर प्रश्न उब्जिएको छ।