नेपाली कांग्रेसको संस्थापन इतर (देउवा) समूहले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय भेलामा नेताहरूले विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा र उहाँको नेतृत्वमाथि तीव्र हमला बोलेका छन्। पूर्वसभापति शेरबहादुर देउवाको उपस्थितिमा भएको भेलामा सम्बोधन गर्दै देउवा पक्षका शीर्ष नेताहरूले थापाको नेतृत्वलाई अस्वीकार गर्दै विशेष महाधिवेशनलाई ‘अवैधानिक, अराजक र हतारोको शल्यक्रिया’ को संज्ञा दिएका छन्। थापाकै कारण समृद्ध बनेको कांग्रेस धरासायी बनेको आरोप लगाउँदै उहाँहरूले देउवाकै नेतृत्वमा पार्टीलाई पुनः एकीकृत गर्नुपर्ने दाबी पेस गरे।

भेलालाई सम्बोधन गर्दै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले गगन थापालाई ‘सभापति’ भन्न आफूलाई पटक्कै मन नलागेको बताउनुभयो। विशेष महाधिवेशन अवैधानिक र अराजक ढङ्गले गरिएकाले त्यसलाई मान्यता दिन नसकिने उल्लेख गर्दै सिटौलाले थापालाई हठ र अहङ्कार छोडेर गल्ती सच्याउन सुझाव दिनुभयो। “२४ गते आहत भएका शेरबहादुर देउवालाई पार्टीबाट निकालेर कत्रो महान् काम गरेँ भनेर एकान्तमा बसेर आफ्नो अन्तरआत्मालाई सोध्नुस्,” सिटौलाले थापालाई प्रश्न गर्दै भन्नुभयो, “हठ र अहङ्कारले संसारका कुनै पनि शासक टिकेका छैनन्, गल्ती स्वीकारेर सच्याउनु नै महानता हो।”

त्यस्तै, पूर्वप्रवक्ता डा. प्रकाशशरण महतले अहिले आधिकारिकता पाएको गगन थापा नेतृत्वको कांग्रेससँग ‘आत्मा’ नभएको र केवल ‘शरीर’ मात्र बाँकी रहेको दाबी गर्नुभयो। वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय भइसकेको अवस्थामा पनि जबर्जस्ती विशेष महाधिवेशन आयोजना गरिएकोमा आपत्ति जनाउँदै महतले भन्नुभयो, “पार्टीको आत्मालाई जबर्जस्ती शरीरबाट बाहिर धकेलियो, अब हामीलाई आत्मासहितको नेपाली कांग्रेस चाहिएको छ। व्यक्तिविशेषलाई नेतृत्वमा ल्याउनकै लागि कुनै औचित्य नै नभएको विशेष महाधिवेशनको प्रायोजन गरियो।”

विशेष महाधिवेशनको प्रक्रियालाई लिएर नेता रमेश लेखकले अस्वाभाविक र अनौठो व्यङ्ग्य गर्नुभयो। आवधिक रूपमा १५औँ महाधिवेशनबाट स्वाभाविक नेतृत्व आउने अवस्था हुँदाहुँदै बलजफ्ती विशेष महाधिवेशन गर्नु भनेको समय नपुगी आमाको पेटबाट शल्यक्रिया गरेर बच्चा जन्माउनु सरह भएको उहाँको तर्क थियो। “अस्वाभाविक र हतारको जन्मले सन्तान पनि सबल हुँदैन र आमाको शरीरलाई पनि प्रतिकूल असर पार्छ, अहिले पार्टीमा त्यही भएको छ,” लेखकले भन्नुभयो, “देउवा दाइ आफैँ सभापतिको प्रतिस्पर्धी नबन्ने घोषणा गरिसकेको अवस्थामा गरिएको यो कदमले पार्टी फुटको डिलमा पुगेकाले अब देउवाकै नेतृत्वमा कांग्रेसलाई फेरि एकीकृत बनाउनुपर्छ।”

उता, पूर्वमन्त्री मोहन बस्नेतले भने उखानटुक्कासहित गगन थापामाथि तिखो प्रहार गर्नुभयो। वडादेखि संसद्‌सम्म बहुमतमा रहेको कांग्रेसलाई थापाले सम्हाल्न नसकेर धरासायी बनाएको आरोप लगाउँदै बस्नेतले भन्नुभयो, “म गगनजीलाई पुरानो उखान सम्झाउँछु— बोकाले दाइँ हुने भए गोरु चाहिँदैन! युवाको नारा लगाएर मात्र पार्टी चल्दैन रहेछ।” उहाँले थापालाई चुनाव नलड्न र नयाँ पुस्तालाई हस्तान्तरण गर्न खुला चुनौती दिँदै थप्नुभयो, “तपाईं चुनाव नलड्नुस्, म पनि चुनाव लड्दिनँ, नयाँ पुस्तालाई छाडिदिऊँ! अब देउवाकै नेतृत्वमा कांग्रेसलाई शीर्ष स्थानमा पुर्‍याएर मुलुकलाई निकास दिनुपर्छ।”