नेपाली कांग्रेसको इतर समूहले तीन दिनसम्म काठमाडौंमा गरेको राष्ट्रिय भेला पाँच बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । गत शुक्रबारबाट काठमाडौँमा सुरु भएको नेपाली कांग्रेसको इतर समूहको राष्ट्रिय भेलामा शनिबार ५ प्रतिवेदनहरू प्रस्तुत भएका थिए । 

भेलामा पूर्वउपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीले पेस गरेको साङ्गठनिक प्रस्ताव, एनपी साउदले पेस गरेको समसामयिक नीति र विषयसम्बन्धी प्रस्ताव, डा. प्रकाशशरण महतले प्रस्तुत गरेको नेपालको आर्थिक नीतिसम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले पेश गरेको कानुन तथा विधानसम्बन्धी प्रस्ताव परिमार्जनसहित पारित भएका हुन् । शनिबार प्रस्तुत भएका प्रस्तावमाथि राष्ट्रिय भेलामा सहभागी भएका विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल गरिएको थियो । भेलाको सबैभन्दा महत्वपूर्ण राजनीतिक निष्कर्ष भने पार्टी सभापतिको विषयमै देखिएको छ । भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयअनुसार १५औँ महाधिवेशन सम्पन्न गर्ने भन्दै शेरबहादुर देउवाकै सभापतित्वमा महाधिवेशन हुने स्पष्ट गरेको छ । भेलाको अर्को महत्वपूर्ण सन्देश भने धार्मिक पहिचानको विषय बनेको छ । नेपालको सनातनदेखि चलिआएको धर्म तथा संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गर्दै कांग्रेसले हिन्दु, बौद्ध, किराँत तथा प्राकृत धर्मको संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ ।

यी हुन् पारित पाँच प्रस्ताव

१. देउवाको नेतृत्व र साङ्गठनिक कमान्ड
१४ औँ महाधिवेशनबाट निर्वाचित कमिटीलाई नै आधिकारिक मान्दै १५ औँ महाधिवेशन शेरबहादुर देउवाकै सभापतित्वमा सम्पन्न गर्ने। महाधिवेशन नहुँदासम्म पार्टीका नियमित क्रियाकलाप देउवाको निर्देशनमा भेलाका संयोजक (डा. शशांक कोइराला) मार्फत सञ्चालन गर्ने।

२. राष्ट्रिय मेलमिलाप र राजनीतिक सहकार्य
बिपी कोइरालाको २०३३ सालको ‘राष्ट्रिय एकता र मेलमिलाप’ को नीतिलाई आधार मान्दै मुलुकको विद्यमान सङ्कट समाधानका लागि सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता र लोकतन्त्र सुदृढ बनाउने।

३. ‘सनातन धर्म’ लाई राष्ट्रिय पहिचान बनाउने नीति
धार्मिक स्वतन्त्रता र सामाजिक सद्भावलाई कायम राख्दै हिन्दु, बौद्ध, किराँत र प्राकृत धर्म–संस्कृतिको संरक्षण गर्ने र ‘सनातन धर्म’ लाई नेपालको मुख्य राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने।

४. संविधान संशोधनमा सहमति र संवाद
जनताको चाहना र आवश्यकता अनुसार वर्तमान संविधानका अस्पष्टताहरू सुधार्न संवैधानिक प्रक्रिया बमोजिम सबै सरोकारवाला दलहरूसँग छलफल गरेर निकास खोज्ने।

५. प्रस्तावको परिमार्जन र दस्ताबेजीकरण
राष्ट्रिय सम्मेलनमा आएका सबै सुझाव र प्रस्तावहरूलाई समेटेर अन्तिम लिखित दस्ताबेज तयार पार्न केन्द्रीय सदस्य एन.पी. साउदको संयोजकत्वमा उमाकान्त चौधरी, सिता राना, मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइकेल रहेको समिति निर्माण गर्ने।

देउवाको नेतृत्वमा महाधिवेशन सम्पन्न गर्ने निर्णय गर्ने समूहले नै महाधिवेशनसँग सम्बन्धित नियमित गतिविधि अघि बढाउने जिम्मेवारी भने इतर समूहका नेता डा. शशांक कोइरालालाई दिएको छ । भेलाका संयोजकसमेत रहेका कोइरालालाई १५औँ महाधिवेशनसम्मका पार्टीका नियमित गतिविधि संयोजन गर्ने जिम्मेवारी दिइएको छ । यसअघि इतर समूहको नेतृत्व पूर्णबहादुर खड्काले गर्दै आएका थिए । तर यसपटकको भेलाबाट शशांक कोइरालालाई अघि सारिनुले आगामी महाधिवेशनमा उनको भूमिकालाई थप महत्वपूर्ण बनाएको देखिन्छ । पुर्व उपसभापति विमलेन्द्र निधिले १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा सम्पन्न गर्ने तर नियमित कामकारबाही देउवाको निर्देशनमा राष्ट्रिय भेलाका संयोजक डा. कोइरालाले संयोजन गर्दै जाने बताए । 

तर यहीबाट नयाँ विवाद सुरु भएको छ । पूर्व कार्यबाहक सभापति खड्का भेलाको समापनमा सहभागी भएनन् । पूर्वसभापति देउवाका निकट मानिने खड्का पछिल्लो समय देउवा समूहसँगै इतर समूहको समानान्तर गतिविधिप्रति पनि असन्तुष्ट रहेको देखिएको छ । यही असहमतिका कारण उनी राष्ट्रिय भेला आयोजनामा समेत अनिच्छुक थिए । खड्का पछि हटेपछि इतर समूहको नेतृत्व शशांक कोइरालाले सम्हालेका हुन् । भेलाको पहिलो दिन भने खड्का सहभागी भएर देउवाकै नेतृत्वमा कांग्रेसलाई एकताबद्ध बनाउनुपर्ने धारणा राखेका थिए । 

देउवा विदेशबाट फर्किएको अवस्थामा आफू नजाँदा असहज हुने ठानेर मात्रै उनी भेलामा सहभागी भएका थिए । अब शशांक नेतृत्वमा इतर समूहले समानान्तर गतिविधिलाई निरन्तरता दिने तयारी गरिरहँदा पूर्णबहादुर भने दुवै पक्षबाट दूरी बनाउँदै पार्टी एकताको पक्षमा उभिने संकेतमा छन् । खड्का मात्र नभएर अर्का नेता डा. शेखर कोइराला पनि इतर समुहको सबै गतिविधिसँग सहमत छैनन् । खड्का र कोइराला दुवै नेता सर्वोच्च अदालतमा विचाराधिन मुद्धाको टुङ्गो लागेपछि मात्र थप कदम अघि बढाउनुपर्ने पक्षमा रहेका छन् ।