
काठमाडौं ।नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै सम्पन्न गर्ने गरी नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
केन्द्रीय निर्वाचन समितिले बुधबार सार्वजनिक गरेको परिमार्जित कार्यतालिकाअनुसार कांग्रेसको १५औँ महाधिवेशन२०८३ असोज १६ देखि १९ गतेसम्मकाठमाडौंमा हुनेछ। महाधिवेशनको मिति यथावत् राख्दै पार्टीले वडा तहदेखि प्रदेश तहसम्मका अधिवेशनको समयतालिका भने परिमार्जन गरेको हो।
नयाँ कार्यतालिकाअनुसारभदौ २४ गते देशभरका ६ हजार ७ सय ४३ वडामा वडा अधिवेशनहुनेछ। वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ।
त्यसपछिभदौ २७ गते गाउँ तथा नगरपालिकाको अधिवेशनहुनेछ। प्रदेशसभा क्षेत्रीय अधिवेशनभदौ ३१ गतेर प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशनअसोज ३ गतेतोकिएको छ।
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्नुका साथै सम्बन्धित क्षेत्रको कार्यसमिति निर्वाचन हुनेछ।
त्यस्तैअसोज ७ गते जिल्ला अधिवेशनरअसोज १० गते प्रदेश अधिवेशनगर्ने कार्यतालिका सार्वजनिक गरिएको छ। त्यसपछि असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन सुरु हुनेछ।
निर्वाचन प्रतिनिधिलाई भदौ २ देखि अभिमुखीकरण
केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रतिनिधिलाईभदौ २ देखि १० गतेसम्मअभिमुखीकरण तालिम दिने भएको छ। काठमाडौं उपत्यका तथा उपत्यकाबाहिर तालिम सञ्चालन गरिने समितिले जनाएको छ।
त्यसपछिभदौ ११ गते निर्वाचन अधिकृतलाई जिल्लामा खटाइनेरभदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि खटाइनेकार्यतालिका छ। वडामा खटिने निर्वाचन प्रतिनिधिलाई भदौ १६ देखि २० गतेसम्म अभिमुखीकरण तालिम दिइनेछ।
बाँकी रहेका नेपाली जनसम्पर्क समितिका अधिवेशनहरू भनेभदौ मसान्तभित्र सम्पन्न गर्नेसमयसीमा तोकिएको छ।
महाधिवेशनको मिति परिवर्तन नहुने
कांग्रेस केन्द्रीय कार्यसमितिको साउन २४ देखि भदौ १ गतेसम्म बसेको बैठकले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेमै सम्पन्न गर्ने निर्णय गरेको थियो।
पार्टीभित्र व्यापक सहभागिता सुनिश्चित गर्न संवाद र सहमतिको वातावरण बनाउनुपर्ने तथा भदौको सुरुवाती वर्षातका कारण वडा, गाउँ–नगर, उपमहानगर, महानगरपालिका र क्षेत्रीय अधिवेशनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै तल्ला तहका अधिवेशनको क्यालेन्डर परिमार्जन गरिएको कांग्रेसले जनाएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार विभिन्न देशमा रहेका नेपाली जनसम्पर्क समितिमध्ये अमेरिका, फ्रान्स, नेदरल्याण्ड, माल्टा, जापान, दक्षिण कोरियालगायत १५ देशका अधिवेशन सम्पन्न भइसकेका छन्।
कांग्रेसले सर्वोच्च अदालतको वैशाख ४ गतेको फैसलामा समेत असोज १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने विषय उल्लेख भएको जनाएको छ।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले विधानको धारा ३५ (२) (च) बमोजिम परिमार्जित निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै निर्धारित समयमै अधिवेशन प्रक्रिया अघि बढाउने जानकारी दिएका छन्।
नयाँ कार्यतालिकाले कांग्रेसको तल्लो तहदेखि केन्द्रीय नेतृत्व चयनसम्मको निर्वाचन प्रक्रिया अघि बढाउने बाटो स्पष्ट गरेको छ। अब भदौ २४ गते हुने वडा अधिवेशनसँगै कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रिया निर्णायक चरणमा प्रवेश गर्नेछ।






Facebook Comments