
कैलाली ।सुदूरपश्चिम प्रदेश सरकार विस्तारको अन्तिम तयारी गरिएको छ। मुख्यमन्त्री खगराज भट्टले एक–दुई दिनभित्रै सरकार विस्तार हुने बताएका छन्।
मन्त्री छनोटमा प्रदेशस्तरीय कार्यदल सहमतिमा पुग्न नसकेपछि ३ मन्त्री र २ राज्यमन्त्रीका लागि १२ जनाको नाम केन्द्रमा पठाइएको छ। साबिक माओवादीबाट ७, नागरिक उन्मुक्तिबाट ३ र एकीकृत समाजवादीबाट २ जनाको नाम सिफारिस गरिएको छ।
केन्द्रले ती १२ जनामध्ये ३ जनाको नाम छनोट गरी प्रदेशमा पठाउने र उनीहरूलाई भौतिक पूर्वाधार, उद्योग–पर्यटन–वन तथा वातावरण र आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। केन्द्रबाट नाम प्राप्त भएलगत्तै सरकार विस्तार गरिने मुख्यमन्त्रीको तयारी छ।
साबिक माओवादीबाट ओमविक्रम भाट ‘सरल’, शिवसिंह ओली, मानबहादुर धामी, अक्कल रावल, झपट साउद, लक्ष्मी विक र जानकी पौडेलको नाम सिफारिस गरिएको छ ।
साबिक नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरी, खुसीराम चौधरी र इन्दिरा गिरीको नाम सिफारिस गरिएको छ भने साबिक नेकपा एकीकृत समाजवादीबाट प्रकाश रावल र नरेश शाहीको नाम सिफारिस गरिएको छ ।
मन्त्री सिफारिस गर्न केन्द्रले नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशी, संयोजक हरिराम चौधरी ‘उत्सव’ र संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री खगराज भट्टलाई जिम्मेवारी दिएको थियो ।






Facebook Comments