सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक काठमाडौँस्थित पार्टी मुख्यालय वनस्थलीमा सुरु हुँदा वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह भने आफ्नो गन्तव्यतर्फ लागेका । प्रधानमन्त्री शाह शुक्रबार बिहानै आफ्नो सरकारी गाडीमार्फत पृथ्वी राजमार्ग हुँदै पोखरातर्फ प्रस्थान गरेका थिए । भ्रमणको क्रममा उनी धादिङको गजुरीस्थित भैरव दल गण पुगेर केही बेर बसेका थिए । अहिले प्रधानमन्त्री बालेन शाह पोखरा पुगिसकेका छन् ।

उनी कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ (धिताल अस्ताम) स्थित ‘अन्नपूर्ण इको भिलेज’ रिसोर्टमा बास बस्नेगरी गएका हुन् । मनोरम प्राकृतिक वातावरण, ध्यान र योगका लागि चर्चित उक्त रिसोर्टका सबै कोठाहरू प्रधानमन्त्रीको टोलीका लागि पहिले नै बुक भइसकेका थिए । पोखरामा बास बसेपछि प्रधानमन्त्री शाह शनिवार मुस्ताङ भ्रमणका लागि अगाडि बढ्ने कार्यक्रम रहेको छ । स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई पूर्वसूचना नदिइ गरिएको यो निजी भ्रमणका बारेमा कास्की र मुस्ताङका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीहरूले समेत मिडियामार्फत मात्र जानकारी पाएको बताएका छन् ।

रास्वपाको जिल्ला कमिटलाई पनि वरिष्ठ नेताको भ्रमणबारे जानकारी गराइएको छैन । भ्रमणको विस्तृत कार्यक्रम पनि सार्वजनिक गरिएको छैन । पार्टीको दोस्रो केन्द्रीय समिति बैठकले विभिन्न पदाधिकारी, केन्द्रीय सदस्य तथा विभाग प्रमुखहरूको मनोनयन गर्ने महत्त्वपूर्ण निर्णयहरू गरिरहँदा प्रधानमन्त्री शाह भने उपत्यका बाहिर रहेका कारण बैठकमा अनुपस्थित भएका हुन् ।

काठमाडौँ महानगरपालिकाको मेयर पद त्याग गरी गत पुस १३ गते आफ्नो समूहसहित रास्वपामा आबद्ध भएका शाहलाई गत साउन १३ गते मात्रै रास्वपाले वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो। उनी रास्वपा संसदीय दलका नेता पनि हुन्। यसअघि आफूलाई वरिष्ठ नेता बनाउने निर्णय भएको दिनको बैठकमा पनि उनी सहभागी भएका थिएनन्। पार्टीभित्र मनोनयन गरिने पदाधिकारी र ५० जना केन्द्रीय सदस्यहरूको विषयमा सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच सहमति हुन बाँकी रहेकै अवस्थामा यो अनुपस्थितिलाई चासोका साथ हेरिएको छ ।

विशेषगरी शुक्रबार, शनिबार र आइतबार मा व्यक्तिगत समय व्यतीत गर्न रुचाउने प्रधानमन्त्री शाह प्रायः सामाजिक सञ्जालमा व्यक्त गरिने टिप्पणी वा स्टाटसका कारण चर्चा र बहसमा छाइरहन्थे । तर, यसपटक भने उनी काठमाडौँ उपत्यकाको भीडभाड र राजनीतिक कोलाहलबाट टाढा रहेर प्रकृतिको काखमा व्यक्तिगत समय बिताउने मुडमा देखिएका छन् ।

एकातिर वनस्थलीमा बसिरहेको रास्वपाको महत्वपूर्ण केन्द्रीय समिति बैठक र अर्कोतिर पूर्वसूचनाविना नै प्रधानमन्त्रीको यो पोखरा तथा मुस्ताङ यात्रा—यसले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र उम्मेदवार मनोनयनको विवादलाई लिएर थप कौतूहल पैदा गरिदिएको छ । राजनीतिक वृत्तमा यस अनुपस्थितिलाई लिएर अनेक अडकलबाजी भइरहँदा बालेन भने आफ्नो दैनिकी र राजनीतिक दौडधुपबाट केही दिनका लागि विश्राम लिँदै अस्तामको शान्त वातावरणमा आफूलाई रिफ्रेस गराउने ध्याउन्नमा देखिएका छन् ।