बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरीकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर देशभर आक्रोश र विरोध प्रदर्शन चर्किएको छ। दोषीलाई कडाभन्दा कडा कारबाही, बलात्कारीलाई मृत्युदण्ड र पीडित परिवारलाई न्यायको माग गर्दै राजधानी काठमाडौंसहित बारा र बुटवल लगायतका क्षेत्रमा सर्वसाधारण, महिला अधिकारकर्मी, विद्यार्थी तथा विभिन्न संघसंस्थाहरू सडकमा उत्रिएका छन्।
कहाँ कसरी भयो विरोध प्रदर्शन?
बारा (सिमरा र पथलैया क्षेत्र):स्थानीयवासी तथा पीडित परिवारले वीरगञ्ज–पथलैया सडक खण्डको सिमरा र पथलैया चोकमा चौथो दिन पनि सडकमै टेन्ट टाँगेर धर्ना दिएका छन्। प्रदर्शनका कारण पूर्वपश्चिम महेन्द्र राजमार्ग र वीरगञ्ज-पथलैया सडक ठप्प बनेको छ। बिहीबार राति स्थानीय प्रशासन र जनप्रतिनिधिको रोहबरमा भएको ५ बुँदे सहमतिलाई परिवारले अमान्य भन्दै आन्दोलन जारी राखेका हुन्। मृतक बालिकाको शव अझै कलैया अस्पतालमै छ।
काठमाडौं (माइतीघर र शान्तिबाटिका):काठमाडौंको माइतीघर मण्डलामा नागरिक, युवा, विद्यार्थी र अधिकारकर्मीहरूले स्वतःस्फूर्त प्रदर्शन गरेका छन्। उता, शान्तिबाटिकामा ‘स्वतन्त्र आमा नेपाल’ नामक संस्थाको अगुवाइमा आमा तथा महिलाहरूले प्लेकार्डसहित नाराबाजी गर्दै जघन्य अपराधविरुद्ध कडा कानुन लागू गर्न माग गरे।
बुटवल (रूपन्देही):बुटवलमा महिला अधिकारकर्मीहरुकै अगुवाइमा ठूलो संख्यामा महिलाहरू सडकमा उत्रिए। बुटवलको ट्राफिक चोकबाट सुरु भएको विरोध र्याली उच्च अदालत तुल्सीपुर बुटवल इजलास मार्ग हुँदै इलाका प्रहरी कार्यालय बुटवलको गेटमा पुगेर धर्ना र नाराबाजीमा परिणत भएको थियो।
प्रदर्शनकारीका मुख्य मागहरू
फाँसी वा इन्काउन्टरको माग:प्रदर्शनकारीहरूले "बलात्कारीलाई फाँसी दे", "फाँसी दिन सकिँदैन भने इन्काउन्टर गर" जस्ता नारा लगाउँदै दोषीलाई मृत्युदण्ड वा हदैसम्मको सजाय दिनुपर्ने माग राखेका छन्।
सुरक्षा संयन्त्र र कानुनमाथि प्रश्न:"छोरी जन्मनु अपराध हो?", "जुन देशले आफ्ना बच्चाहरूलाई सुरक्षा दिन सक्दैन, त्यो देश विकासमा होइन लाजमा डुब्नुपर्छ" जस्ता प्लेकार्ड प्रदर्शन गर्दै नागरिकको सुरक्षा र फितलो कानुनप्रति आक्रोश व्यक्त गरेका छन्।
निष्पक्ष अनुसन्धान र लापरबाही गर्ने प्रहरीमाथि कारबाही:प्रारम्भिक अनुसन्धानमा लापरबाही गर्ने प्रहरी अधिकारीहरूमाथि छानबिन हुनुपर्ने र घटनामा संलग्न सबै दोषीहरूलाई अविलम्ब कानुनी दायरामा ल्याएर पीडित परिवारलाई न्याय दिनुपर्ने माग गरेका छन्।
घटनाको पृष्ठभूमि र अनुसन्धानको अवस्था
गत साउन ३१ गते बिहान घरबाट हराएकी तीन वर्षीया गरिमाको शव भदौ ३ गते (मंगलबार) जितपुरसिमरा–१ स्थित एक खाली घरमा फेला परेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बालिकालाई चकलेट दिएर लोभ्याउने १६ वर्षीय सुमन थापा र ना १ ज ७७५८ नम्बरको म्याजिकका धनी २४ वर्षीय प्रोग्रेस चौधरीसहित अभिभावकको जाहेरीका आधारमा थप चार जना गरी ६ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।







Facebook Comments