काठमाडौँ।बाराको जितपुर सिमरामा ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको निर्मम हत्याको घटनालाई लिएर प्रतिनिधि सभामा तीव्र आक्रोश व्यक्त भएको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले देशमा छोरीहरूको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाउँदै जघन्य अपराधमा संलग्न दोषीहरूलाई कडाभन्दा कडा सजाय दिन सरकारको ध्यानाकर्षण गराएका हुन्।

बहसका क्रममा सांसदहरूबीच दोषीलाई दिइने सजाय र कानुनी प्रावधानबारे विभिन्न धारणा सार्वजनिक भएका छन्। संसद्‌मा बोल्दै सांसद शाहजान खातुनले छोरीहरू घरबाहिर सुरक्षित हुने वातावरण नरहेको भन्दै संविधान संशोधन गरेर भए पनि बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्था गर्नुपर्ने जोड दिइन्।

तर, अर्की सांसद राधिका रम्तेलले भने संविधान र नेपालले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय सम्झौताका कारण मृत्युदण्डको प्रावधान राख्न असम्भव रहेको बताइन्। उनले मानवअधिकार र संविधानको सम्मान गर्दै दोषीलाई कानुनबमोजिम हदैसम्मको कडा कारबाही गर्नुपर्ने धारणा व्यक्त गरिन्।

त्यस्तै, सांसद ज्ञानेन्द्र शाहीले बलात्कारपछि हत्या गर्ने अपराधीलाई कडा सजाय दिलाउन कानुन बदल्नुपर्ने भन्दै सरकारले तत्काल संशोधनको मस्यौदा ल्याए आफूहरूले पूर्ण साथ दिने प्रतिबद्धता जनाए। अर्का सांसद प्रेमबहादुर बयकले बालबालिकाको हत्या, बलात्कार र अपहरण जस्ता जघन्य अपराध गर्नेहरूलाई कडा कारबाही गर्न कसले र किन रोक्यो भन्दै सरकारमाथि प्रश्न तेर्स्याए।

बैठकमा सांसद रन्जु दर्शनाले यौन शिक्षालाई प्रभावकारी बनाउनुपर्ने र महिलालाई यौन वस्तुको रूपमा प्रयोग गर्ने सामाजिक मानसिकता बन्द गरिनुपर्नेमा जोड दिइन्।

सांसद श्रद्धा कुवर क्षेत्रीले छोरीहरूलाई सम्मानपूर्वक बाँच्ने अधिकार दिन संविधानका पाना र अक्षर मात्र हेरेर बस्न नहुने तर्क गरिन्। उनले प्रमाणित बलात्कारी र जघन्य अपराधीलाई कानुनी कारबाहीको डर हुने गरी नयाँ कानुनी व्यवस्था गर्न सरकारसँग माग गरिन्।

यसैगरी, सांसद प्रमिला कुलुजुले अबोध बालबालिकामाथि यस्ता यौन अपराध भइरहँदा राज्य मूकदर्शक बन्न नमिल्ने बताइन्। उनले यस्ता घटनाको द्रुत सुनुवाइका लागि 'फास्ट ट्रयाक' अदालत गठन गरेर दोषीलाई तत्काल हदैसम्मको सजाय दिलाउने व्यवस्था गर्न सरकारसँग जोडदार माग गरिन्।

संसद्‌मा उठेका यी आवाजहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न र दोषीलाई ढिलाइ नगरी दृष्टान्तमूलक कारबाही गर्न सरकारमाथि कानुनी तथा संरचनागत सुधारको ठूलो दबाब सिर्जना गरेको छ।