काठमाडौँ ।तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीका कारण रसुवा जिल्लामा व्यापक क्षति पुगेको छ। बाढीले रसुवास्थित नेपाल प्रहरीका तीन वटा प्रहरी कार्यालय बगाएको छ भने प्रभावित क्षेत्रमा खटिएका २ि१ जना प्रहरीमध्ये १६ जना अझै सम्पर्कविहीन रहेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी र प्रहरी चौकी रसुवागढीमा ठूलो क्षति पुगेको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले टिमुरेबाट ५ जना प्रहरी मात्र सम्पर्कमा आएको जानकारी दिँदै स्याफ्रुबेँसीका ९ जनासहित रसुवागढी र मैलुङ क्षेत्रमा खटिएका १६ जना प्रहरी सम्पर्कबाहिर रहेको बताए। बाढीले कार्यालयका भौतिक संरचना मात्रै क्षति पुर्‍याएको हो या प्रहरी कर्मचारीहरू समेत प्रभावित भएका हुन् भन्ने विस्तृत विवरण आउन बाँकी छ।

उद्धारमा सेनाका हेलिकप्टर र ईएमआरटी टोली परिचालन

घटनालगत्तै प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सरकारी संयन्त्रहरू तीव्र रूपमा परिचालन गरिएका छन्। नेपाली सेनाका दुई वटा हेलिकप्टर उद्धारका लागि त्रिशूली पुगिसकेका छन् भने त्रिशूलीस्थित जिल्ला अस्पतालमा सहयोग पुर्‍याउन सेनाको ‘इमरजेन्सी मेडिकल टिम’ (EMRT) एमआई–१७ हेलिकप्टरसहित परिचालन भएको छ।

धुन्चे र त्रिशूली ब्यारेकका साथै गजुरीस्थित ६ नम्बर बाहिनी अड्डाबाट विपद् व्यवस्थापनका दक्ष जनशक्ति उद्धारका लागि खटिएका छन्। सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका थप टोलीहरू अन्य जिल्लाबाट पनि प्रभावित इलाकातर्फ मोडिएका छन्।

सरकारी तयारी र तटीय क्षेत्रमा उच्च सतर्कता

विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै रेडक्रस, स्काउट र मेडिकल टोलीसँगको समन्वयमा थप एम्बुलेन्स तथा जनशक्ति प्रभावित क्षेत्रमा पठाइएको छ। सम्भावित उद्धार तथा राहत कार्यका लागि सरकारी तथा निजी कम्पनीका सबै हेलिकप्टरहरूलाई 'स्ट्यान्डबाइ' (तयार) अवस्थामा राखिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई निर्देशन दिइसकिएको छ भने नागरिकहरूलाई एसएमएस (SMS) मार्फत सुरक्षित रहन अलर्ट गराइएको छ।

भोटेकोशी, त्रिशूली र नारायणी नदीमा बाढीको सतह अत्यधिक बढेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। राहत र उद्धारबारे थप जानकारी लिन तथा सहयोगका लागि सरकारले सहायता नम्बर१२३४सार्वजनिक गर्दै सबैलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।