
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको चार दिन बितिसक्दा पनि विपत्तिको वास्तविक तस्वीर अझै पूर्ण रूपमा बाहिर आउन सकेको छैन । बाढीमा परी मृत्यु हुनेको संख्या ६२६ पुगेको छ । भोटेकोशीको बाढीले रसुवामा क्षति पु¥याए पनि यसको मानवीय असर नदीको बहावसँगै तलका जिल्लासम्म फैलिएको देखिन्छ । सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन् । नवलपरासी पूर्वमा, गोरखामा, धादिङमा, नवलपरासी पश्चिममा र तनहुँमा शव फेला परेका छन् । त्यसैगरी रसुवामा पनि शव भेटिएको छ ।
हालसम्म फेला परेका शवको संख्याः ६२६
हालसम्म घाइते तथा अन्य उद्धार गरिएको संख्याः ४,४५१
सम्पर्कविहीनको संख्याः २४२६
सम्पर्कविहीन प्रहरी कर्मचारीः २७
उद्धारमा परिचालित सुरक्षाकर्मी संख्याः १५,२२४
विभिन्न अस्पतालमा उपचाररत घाइतेः १०१
हजारौँ मानिसको उद्धार गरिए पनि ठूलो संख्यामा नागरिकको अवस्था अझै अज्ञात रहेकाले मृतकको संख्या थप बढ्न सक्ने देखिएको छ । विपत्तिको अर्को भयावह पाटो सम्पर्कविहीनको संख्या हो । बेपत्ता हुनेमा बाढी प्रभावित क्षेत्रका स्थानीयबाहेक विभिन्न जिल्लाबाट रोजगारी, व्यापार, तीर्थयात्रा तथा अन्य कामका लागि प्रभावित क्षेत्रमा पुगेका नागरिकसमेत छन् ।
सम्पर्कविहीनको वास्तविक अवस्थाबारे खोजी भइरहेकाले यो संख्या घट्न वा मृतकको संख्या थपिन सक्ने अवस्था छ । बाढीमा परी सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मीसमेत छन् । विपत्तिको सुरुवातदेखि नै उद्धार तथा खोजीमा सुरक्षा निकाय अग्रपंक्तिमा रहे पनि आफ्नै जनशक्तिसमेत बाढीको चपेटामा परेको देखिन्छ । उद्धारतर्फ भने सुरक्षा निकायले ठूलो जनशक्ति परिचालन गरेको छ । पछिल्लो विवरणअनुसार करिब ५ हजार जनाको उद्धार गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन भएको विवरण छ । सशस्त्र प्रहरी बलले मात्रै शुक्रबार थप २ हजार ९८३ जनशक्ति परिचालन गरी आफ्नो कुल जनशक्ति करिब ५ हजार पु¥याएको थियो । खोज तथा उद्धारका लागि विशेष टोली, कुकुरसहितको टोली, ड्रोन, गोताखोर र डोरीबाट उद्धार गर्ने जनशक्तिसमेत परिचालन गरिएको छ । बाढीमा मृत्यु भएकाहरूको शव व्यवस्थापन पनि अर्को ठूलो चुनौती बनेको छ । एकैपटक धेरै शव व्यवस्थापन गर्नुपर्दा क्षमता अपुग भएपछि समस्या देखिएको हो । सम्पर्कविहीन आफन्तको खोजीमा परिवारहरू अस्पतालदेखि सुरक्षा निकायसम्म पुगिरहेका छन् ।
काठमाडौंका अस्पतालमा समेत बाढीमा परेका व्यक्तिका तस्वीर सार्वजनिक गरेर आफन्तको खोजी भइरहेको छ । सरकारले सम्पर्कविहीन नागरिकको विवरण संकलनका लागि ‘सेतु ¥यापिड’ एप सञ्चालनमा ल्याएको छ । जसमा सम्पर्कविहीन आफन्तको अवस्था पत्ता लगाउन सहायता अनुरोध फाराम भर्न सकिने छ । मौसमले पनि उद्धारमा चुनौती थपेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाढी प्रभावित क्षेत्रमा मध्यमसम्म वर्षा हुने सम्भावना छ भने एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । भारी वर्षा भए खोजी तथा उद्धार प्रभावित हुनसक्ने भएकाले सतर्कता आवश्यक रहेको मौसमविद्हरूले बताएका छन् । बाढीले सडक तथा यातायात सम्पर्कमा समेत ठूलो असर पारेको छ । केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । बाढीपीडितका लागि राहत संकलन पनि तीव्र बनेको छ ।







Facebook Comments