
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीपछि शव व्यवस्थापनदेखि राहत, पुनःस्थापना र जनस्वास्थ्यसम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढीमा ज्यान गुमाएकाहरूको शव व्यवस्थापन गर्दा आफन्तको अनुमति नलिइएको गुनासो गम्भीर रहेको बताएका छन् । विपद्का बेला शव व्यवस्थापन जस्तो संवेदनशील विषयमा पीडित परिवारको भावना र अधिकारलाई बेवास्ता गर्न नहुने उनको भनाइ छ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित छलफल कार्यक्रममा नेता आङ्देम्बेले भोटेकोशी र त्रिशूली नदी आसपास बाढीपछि फैलिएको दुर्गन्धले जनस्वास्थ्यमा समेत जोखिम बढाएको बताए । यस विषयमा आफूले प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराइसकेको उनले जानकारी दिए ।
स्थानीय तहका जनप्रतिनिधि, पार्टीका स्थानीय नेता तथा सरोकारवालासँगको समन्वय र उनीहरूबाट प्राप्त सुझावका आधारमा प्रधानमन्त्रीलाई ९ बुँदे ध्यानाकर्षणपत्र बुझाइएको आङ्देम्बेले बताए ।
उनका अनुसार शव व्यवस्थापनलाई व्यवस्थित र संवेदनशील बनाउनुपर्ने, बाढी प्रभावित क्षेत्रमा फैलिएको दुर्गन्ध र सम्भावित स्वास्थ्य जोखिम नियन्त्रण गर्नुपर्ने तथा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।
नेता आङ्देम्बेले विपद्पछिको तत्कालीन राहतसँगै प्रभावितको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणका विषयमा समेत सरकारले स्पष्ट योजना बनाएर अघि बढ्नुपर्ने बताए ।
बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको अवस्थामा उद्धार र राहतसँगै बेपत्ताको खोजी, शव पहिचान तथा व्यवस्थापन, प्रभावित परिवारको पुनःस्थापना र सम्भावित स्वास्थ्य जोखिम नियन्त्रणलाई समान प्राथमिकता दिनुपर्ने कांग्रेसको जोड छ ।







Facebook Comments