
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले सार्वजनिक गरेको २०८३ भदौ १८ गते अपरान्ह १२:०० बजेसम्मको आधिकारिक विवरण अनुसार रसुवा बाढी, खोज, उद्धार तथा राहतको स्थिति निम्नानुसार छ:
मानवीय क्षति र घाइते:
बाढीका कारण हालसम्म १,२५२ जनाको शव (विभिन्न मानव अंगसहित) फेला परेको छ, जसमध्ये ९५ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ।
शव फेला परेका स्थानहरूमा चितवन (३५५), नवलपरासी पूर्व (२१८), नवलपरासी पश्चिम (२०८), नुवाकोट (१७७), रसुवा (१२७), गोरखा (६९), धादिङ (६०) र तनहुँ (३८) रहेका छन्।
बाढीमा परी घाइते भएका ५,१३५ जनाको उपचार गरिएको छ; जसमा अस्पतालमा ३०१ जना, नेपाली सेनाबाट ३,२०६ जना र सशस्त्र प्रहरीबाट १,६२८ जनाले उपचार पाएका छन्।
सम्पर्कविहीन (बेपत्ता) संख्या:
हालसम्म करिब ४,२१६ जना सम्पर्कविहीन रहेका छन्।
बेपत्ता हुनेहरूमा नुवाकोटबाट करिब १,५५८ जना, जलविद्युत आयोजनाहरूबाट करिब ९०० जना, रसुवाबाट करिब ८६५ जना र ५८३ जना विदेशी नागरिक रहेका छन्।
सुरक्षाकर्मीतर्फ नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १३ जना सम्पर्कविहीन छन्।
यसैगरी भन्सार कार्यालयका १४ जना, स्थानीय तह/कर्मचारी ३२ जना, विदेशी पर्यटकसँग गएका नेपाली १६४ जना, जनप्रतिनिधि ७ जना, क्वारेन्टाइन कार्यालयका ३ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना, अध्यागमनका ३ जना र १ जना निजी विद्यालयका शिक्षक बेपत्ता सूचीमा छन्।
उद्धार तथा सुरक्षाकर्मी परिचालन:
हालसम्म कुल ११,९९३ जनाको सफलतापुर्वक उद्धार गरिएको छ।
नेपाली सेनाद्वारा हवाइ उद्धारमार्फत ४,०९१ नेपाली र २७३ विदेशी गरी कुल ४,३६४ जनाको उद्धार गरिएको छ। यसका लागि सेनाले ७१५ पटक (सोही दिन २५ उडान) र निजी क्षेत्रबाट १२९ पटक हवाइ उडान भएका छन्।
खोज तथा उद्धार कार्यमा कुल २१,४०२ सुरक्षाकर्मी परिचालन गरिएका छन् (नेपाली सेना ९,२८७, नेपाल प्रहरी ७,९१२ र सशस्त्र प्रहरी ४,२०३)।
हाल प्रभावित ३,९४८ जना होल्डिङ सेन्टरमा छन् (नुवाकोटमा २,९८१, काठमाडौँमा ३८७, रसुवामा ३२० र धादिङमा २६०)।
राहत, इन्धन र सञ्चारको अवस्था:
काठमाडौँबाट ४५ ट्रक, ३७ बोलेरो, १४ मिनीट्रक र हेलिकप्टरका ९ उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। सशस्त्र प्रहरीद्वारा नुवाकोट र रसुवामा १३० पटक हवाइ ढुवानी गरिएको छ।
नेपाल सरकारबाट रसुवा र नुवाकोट जिल्लालाई १–१ करोड रुपैयाँ, धादिङलाई ५० लाख रुपैयाँ र प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ।
इन्धन मौज्दातमा ४६ हजार लिटर डिजेल, २४ हजार लिटर पेट्रोल र २१ हजार लिटर हवाइ इन्धन भण्डारण अवस्थामा छ।
सञ्चारतर्फ नेपाल टेलिकमका क्षति पुगेका ११० वटै टावर सञ्चालनमा आइसकेका छन् भने एनसेलका ७८ मध्ये ७५ टावर सुचारु भइसकेका छन्।







Facebook Comments