
काठमाडौं -देशका विभिन्न भागमा भोटेकोशी बाढीबाट उत्पन्न भएको दुःखद तथा भयावह परिस्थितिप्रति नेपाल न्यूरोसर्जनस् समाज (नेसन) ले गहिरो दुःख व्यक्त गरेको छ। यस प्राकृतिक विपत्तिका कारण रसुवा, नुवाकोट, धादिङलगायतका विभिन्न स्थानमा व्यापक धनजनको क्षति हुनुका साथै नागरिकले ज्यान गुमाउनुपरेको र धेरै घाइते भई उपचाररत रहेकोप्रति समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संकटको यस घडीमा उद्धार तथा राहत कार्यमा अलिकति भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले समाजको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा ५ लाख १०१ रुपैयाँ (रु. ५,००,१०१/) जम्मा गरिएको छ। हिमालयन बैंक लिमिटेडको खातामार्फत उक्त रकम जम्मा गरिएको बैंक भौचरमा उल्लेख छ। समाजका अध्यक्ष प्रा. डा. राजीव झा र महासचिव डा. विनोद राजभण्डारीद्वारा जारी विज्ञप्तिमा विपद्मा ज्यान गुमाउने सम्पूर्ण दिवगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ।
साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अवस्था अज्ञात रहेका तथा सम्पर्कविहीन नागरिकहरूको सकुशल उद्धारको समेत कामना गरिएको छ। विपक्षी तथा असहज परिस्थिसँग जुध्न अहोरात्र खटिने नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, स्वदेशी तथा विदेशी उद्धारकर्मी, नागरिक समाज तथा सम्पूर्ण स्वयंसेवी र सर्वसाधारणप्रति समाजले हार्दिक सम्मान व्यक्त गरेको छ। साथै, यस विपत्तिमा अन्य सहयोगी मनहरूलाई समेत उदारतापूर्वक राहत तथा उद्धार कार्यमा सहभागी हुन समाजले हार्दिक आह्वान गरेको छ।







Facebook Comments