गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीसम्बन्धी अध्यावधिक तथ्याङ्क सार्वजनिक गर्दै भदौ १९ गते मध्यान्ह १२:३० बजेसम्म देशभर १ हजार २ सय ८७ जनाको शव फेला परेको जनाएको छ। बाढी तथा पहिरोका कारण करिब ५ हजार ८३ जना अझै सम्पर्कविहीन रहेका छन् भने १३ हजार ९३ जनाको सकुशल उद्धार गरिएको छ। यसैबीच, भदौ १९ गते बिहान त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट २ जनाको जीवितै उद्धार हुनुले खोजी तथा उद्धार कार्यमा नयाँ उत्साह थपेको छ।
प्राधिकरणको विवरण अनुसार विभिन्न जिल्लाबाट प्राप्त शव तथा मानव अङ्गहरूको आधारमा चितवनमा सबैभन्दा बढी ३ सय ५९ वटा शव फेला परेका छन्। त्यसैगरी नवलपरासी पूर्वमा २ सय १९, नवलपरासी पश्चिममा २ सय १२, नुवाकोटमा १ सय ८४ र रसुवामा १ सय ४० वटा शव भेटिएका छन्। साथै गोरखामा ७२, धादिङमा ६३ र तनहुँमा ३८ वटा शव फेला परेका छन्। फेला परेका शवहरूमध्ये हालसम्म ९६ वटाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ। सम्पर्कविहीन रहेका कुल ५ हजार ८३ जनामध्ये नुवाकोट जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरण अनुसार करिब २ हजार ३ सय ४० जना र रसुवा जिल्ला प्रशासनबाट करिब २ हजार १ सय ३० जना रहेका छन्। ५ सय ८३ जना विदेशी नागरिक पनि अझै बेपत्ता रहेका छन्। सम्पर्कविहीनको संख्यामा पहिचान हुन नसकेका शवहरू पनि समावेश भएको हुनसक्ने प्राधिकरणले स्पष्ट पारेको छ।
विपद्का कारण घाइते भएका ५ हजार ३ सय ९७ जनाको विभिन्न स्थानमा उपचार गरिएको छ। जसमध्ये ३ सय ४ जनाको विभिन्न अस्पतालहरूमा, ३ हजार २ सय १९ जनाको नेपाली सेनाको स्वास्थ्य टोलीबाट र १ हजार ८ सय ७४ जनाको सशस्त्र प्रहरी बलबाट उपचार भएको छ। उद्धार कार्यतर्फ, नेपाली सेनाद्वारा ४ हजार १ सय ५५ (हवाइ उद्धारतर्फ २ सय ७३ विदेशी र ३ हजार ६ सय ८२ नेपाली तथा स्थलगत रूपमा २ सय जना), नेपाल प्रहरीद्वारा ४ हजार ६८ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीबाट ४ हजार ८ सय ७० जना गरी कुल १३ हजार ९३ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा ३ सय ३ जना विदेशी नागरिक रहेका छन्। हाल नुवाकोटमा ३ हजार १ सय ८१, रसुवामा १ हजार १ सय ४९ र धादिङमा १ सय ९९ गरी कुल ४ हजार ५ सय २९ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ।
खोजी, उद्धार तथा राहत कार्यका लागि कुल २१ हजार ४ सय २१ जना सुरक्षाकर्मी मैदानमा परिचालन गरिएका छन्। जसमा ९ हजार २ सय ८७ नेपाली सेना, ७ हजार ९ सय ३१ नेपाल प्रहरी र ४ हजार २ सय ३ सशस्त्र प्रहरी बलका जवान रहेका छन्। हवाइ उद्धारका लागि नेपाली सेनाले ८३० पटक (भदौ १९ गते मात्रै ४५ उडान) र काठमाडौंबाट निजी क्षेत्रमार्फत १२९ पटक हेलिकप्टर उडान गरिएका छन्। प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन काठमाडौंबाट ६९ वटा ट्रक, ३८ वटा बोलेरो र हेलिकप्टरका ९ उडानमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री पठाइएको छ। सशस्त्र प्रहरीले नुवाकोट र रसुवाभित्रै १६३ हवाइ उडान गरी राहत सामग्री ढुवानी गरेको छ। यसैगरी सरकारले नगद राहत स्वरूप रसुवा र नुवाकोट जिल्लालाई १/१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ पालिकासमेत गरी कुल १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ।
प्रारम्भिक आँकडा अनुसार विपद्का कारण भौतिक तथा पूर्वाधार क्षेत्रमा व्यापक क्षति पुगेको छ। देशभर कुल ७ हजार ५ सय ७० वटा निजी घरहरू नष्ट वा क्षतिग्रस्त भएका छन्। कुल ४८ वटा सरकारी संरचनामध्ये ३५ वटा पूर्ण र १३ वटा आंशिक रूपमा क्षति भएका छन्। १८ वटा विद्यालय (११ पूर्ण, ७ आंशिक) र ७ वटा स्वास्थ्य संस्था (४ पूर्ण, ३ आंशिक) प्रभावित भएका छन्। यातायाततर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको छ भने कुल ३७ वटा मोटरेबल पुलमध्ये ३३ वटा पूर्ण रूपमा ध्वस्त भएका छन् र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। सञ्चारतर्फ भने नेपाल टेलिकमका १२० मध्ये ११६ टावर र एनसेलका ७८ मध्ये ७५ टावर पुन: सञ्चालनमा आइसकेका छन्।
प्राधिकरणको प्रारम्भिक मूल्याङ्कन अनुसार यस बाढी तथा विपद्का कारण कुल आर्थिक क्षति तथा नोक्सानी रु ३ खर्ब ८७ अर्ब ५४ करोड पुगेको छ। प्रभावित क्षेत्रको शीघ्र पुनर्लाभ (Early Recovery) का लागि मात्र तत्काल रु ७ अर्ब १५ करोड रकम आवश्यक पर्ने जनाइएको छ।







Facebook Comments