
संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह न्युयोर्क जाने भएका छन्। हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री शाह आफैँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुन लागेका हुन्।
गत १० भदौमा आएको प्रलयकारी बाढीपछि हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद् जोखिम र नेपालले भोगेको क्षतिबारे विश्वमञ्चमा सशक्त रूपमा आवाज उठाउनुपर्ने माग सांसद, मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबाट उठ्दै आएको थियो। यसअघि गत ३ भदौको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको भए पनि विनाशकारी बाढीको घटनापछि प्रधानमन्त्री स्वयम् उपस्थित हुनुपर्ने दबाब बढेको हो। बिहीबार संसद्मा समेत सांसदहरूले जलवायु परिवर्तन, हिमाली क्षेत्रको जोखिम र क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय सहयोगको पहल गर्न प्रधानमन्त्रीलाई महासभामा जान आग्रह गरेका थिए।
संसद् र मन्त्रीहरूकै सुझावपछि परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ तथा शिष्टाचार महाशाखा र न्युयोर्कस्थित नेपालको स्थायी नियोगलाई प्रधानमन्त्री शाहको भ्रमणको आवश्यक तयारी थाल्न निर्देशन दिइसकेका छन्। प्रधानमन्त्रीको यो भ्रमण छोटो र प्रतिनिधिमण्डल पनि सानो हुने अनुमान गरिएको छ, यद्यपि टोलीमा सहभागी हुने अन्य सदस्यहरूको भने टुङ्गो लाग्न बाँकी छ।
संयुक्त राष्ट्रसंघको ८१ औँ महासभा आगामी २३ भदौदेखि न्युयोर्कमा सुरु हुँदैछ भने उच्चस्तरीय छलफल असोज ६ गतेदेखि सञ्चालन हुने कार्यक्रम छ। गत १३ चैतमा प्रधानमन्त्री बनेयता वालेन्द्र शाहको यो पहिलो विदेश भ्रमण हुनेछ। महासभामा प्रधानमन्त्री शाहले जलवायुजन्य विपद्, हिमाली क्षेत्रको संवेदनशीलता र नेपालले भोग्नुपरेको क्षतिबारे विश्व समुदायसमक्ष नेपालको स्पष्ट धारणा राख्दै जलवायु क्षतिपूर्तिको जोडदार वकालत गर्नेछन्।







Facebook Comments