काठमाडौँ— रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको ११ औँ दिनमा आज पुनः दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा माथिल्लो त्रिशूली–१ को सुरुङमा फसेका एक चिनियाँ नागरिक र नुवाकोटको बेत्रावतीस्थित बाढीले पुरिएको घरबाट एक नेपाली महिला रहेका छन्।

सुरुङको २२५ मिटर गहिराइबाट चिनियाँ नागरिकको उद्धार

नेपाली सेनाले माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र २२५ मिटर गहिराइबाट चिनियाँ नागरिकलुहाइताओको जीवितै उद्धार गरेको छ।

सैनिक प्रवक्ता सहायक रथीराजाराम बस्नेतका अनुसार बाढी आएको ११ औँ दिनमा सेनाको टोलीले सुरुङभित्रै पुगेर उनको सफलताका साथ उद्धार गरेको हो। सेनाले उद्धारलगत्तै उनको तस्बिर सार्वजनिक गर्दै उद्धारको औपचारिक जानकारी दिएको छ। सुरुङभित्रै ११ दिनसम्म अन्धकार र कठिन परिस्थितिमा अड्किएका उनको उद्धार हुनुलाई उद्धार टोलीले अद्भूत घटनाका रूपमा लिएको छ।

बेत्रावतीमा पुरिएको घरबाट महिलाको जीवितै उद्धार

यसैगरी, नुवाकोटको बेत्रावतीमा बाढीले पुरेको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल (एपीएफ) का प्रवक्तानेत्रबहादुर कार्कीका अनुसार स्थानीयआनन्द श्रेष्ठको घर बाढी र लेदोले पुरेको अवस्थामा ती महिलालाई जीवितै बाहिर निकालिएको हो। 

सशस्त्र प्रहरी र उद्धार टोलीले पुरिएको घरको भग्नावशेष पन्छाएर उनलाई सकुशल उद्धार गर्न सफल भएको हो।

६४ वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार गरिएको हो।

लगातार जीवितै उद्धारले जगाएको आशा

यसअघि हिजो मात्रै माथिल्लो त्रिशूली–३ 'ए' को सुरुङभित्र १० दिनदेखि थुनिएका दुई जना प्राविधिकको पनि जीवितै उद्धार गरिएको थियो।

विनाशकारी बाढी आएको ११ दिन बितिसक्दा पनि लगातार जीवितै उद्धार भइरहेका घटनाले उद्धारमा खटिएका सुरक्षाकर्मी र पीडित परिवारहरूमा नयाँ आशा र उत्साह थपेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सम्भावित अन्य स्थानहरूमा पनि खोज तथा उद्धार अपरेसन अझै तीव्र पारिरहेका छन्।