त्यो भाद्र २४ को कहालीलाग्दो रात सम्झिँदा अहिले पनि मन झसङ्ग हुन्छ। तत्कालीन राज्यसत्ताका निकायहरूले सुदन गुरुङ र मलाई मार्न बर्दीधारी तथा सादा पोसाकका सुरक्षाकर्मीहरू खटाएका थिए। त्यो आजकै रात थियो।
“हामी मरे पनि यही माटोमा मरिन्छ। हामीले हाम्रो पुस्ताका लागि जे गर्नु पर्ने थियो, गरिसक्यौँ। अब हामीजस्ता हजारौँ सुदन र अर्जुन जन्मिसकेका छन्,” अर्जुनले भन्नुभएको थियो।
सरकारमा बस्नेहरूले याद राखून्—जेन्जी आन्दोलनको हुँकार हुँदै गर्दा घरको बार्दलीमा बसेर जनआन्दोलनको खिसीट्युरी गर्नेहरू आज मन्त्री बनेर पर्दापछाडिबाट यो आन्दोलनलाई अपराधीकरण गर्ने चेष्टा गर्दै छन्।
आलोचना र मिडिया ट्रायलबाट हामी डराएर भाग्ने मान्छे होइनौँ! यदि हामी डराएको भए, तर्सिएको भए जेन्जी आन्दोलनको त्यो आँधीबेहरी आउने थिएन। भ्रष्टाचारले डङडङ्ती गनाएका पात्रहरूको कठालो समातेर जेल कोच्ने साहस गर्ने थिएनौँ होला! हामी डराएको भए आत्मरतिमा रमाउने पुराना शासकहरूलाई कुर्सीबाट लतारेर मकवानपुरको डाँडा पठाउने थिएनौँ होला!
त्यसैले जेन्जी आन्दोलनलाई अपराधीकरण गर्ने दुस्साहस कसैले नगरोस्। यदि फेरि पनि राज्यसत्ताले त्यस्तो आँट गर्छ भने त्यो हामीलाई कदापि क्षम्य हुने छैन।
म आज यही बाट कडा खबरदारी गर्न चाहन्छु—यो आन्दोलनप्रति, देश र जनताप्रति कुनै किसिमको गद्दारी यो सरकारले गर्छ भने जेन्जी आन्दोलनका योद्धाहरूलाई त्यो सह्य हुने छैन। जसले आन्दोलन गरेर कुर्सीमा राख्न सक्छ, त्यसले कुर्सीबाट लतारेर सडकमा पछार्न पनि सक्छ! यो कुरा सरकारमा बसेका मानिसहरूले राम्ररी याद राखून्।
जेन्जी आन्दोलनको उद्देश्य पवित्र थियो। चारैतिर निराशाको बादल मडारिइरहँदा हामीले क्रान्तिकारी र अठोटपूर्ण निर्णय गर्‍यौँ। हामीले जुन किसिमको क्रान्तिकारी कदम चाल्यौँ, त्यसैको परिणामस्वरूप हामी आज यहाँसम्म आइपुगेका छौँ।
इतिहासको पुनरावृत्ति निकै निर्मम ढङ्गले हुन्छ। हामीले इतिहासबाट धेरै कुरा सिक्नुपर्छ। म जेन्जी अगुवा भएको नाताले ढुक्कका साथ भन्न चाहन्छु—यदि हामीले परिवर्तनको हुँकार नफुकेको भए, जेन्जी आन्दोलन गर्ने ताकत र विद्रोह नगरेको भए, सायद आज पनि तिनै केपी, प्रचण्ड र शेरेहरूले नै शासन चलाइरहेका हुन्थे।
‘मृत्यु एकचोटिका लागि हो, बारम्बारका लागि होइन’ भन्ने सोचका साथ हामीले यो आन्दोलन सुरु गरेका थियौँ। त्यो पुरानो राज्यसत्ताले हामी युवापुस्तालाई पटक–पटक मारिरहेको थियो।
हामीले आफूले आफूलाई प्रश्न गर्‍यौँ—“केपी, प्रचण्ड र शेरबहादुरको पालामा तिमी पनि थियौ, तर तिमीले परिवर्तनको बिगुल किन फुक्न सकेनौ?” भनेर आउने पुस्ताले सोध्ने प्रश्न र इतिहासको त्यो भावले पोलिरह्यो। त्यसैको विस्फोट थियो—जेन्जी जनआन्दोलन!
हामीले जेन्जी जनआन्दोलनका ती कहालीलाग्दा रातहरू अझै सम्झिरहेका छौँ, जहाँ अन्धकार र अनिश्चितताबाहेक केही थिएन। जहाँ युवाहरूको रित्तो मन र देश बनाउने इमानदार हुटहुटीबाहेक कुनै व्यक्तिगत लालसा थिएन।
अन्तरिम सरकार निर्माण वार्ता कमिटीको सह–संयोजक र जेन्जी आन्दोलनको एक अगुवाको नाताले आज हामी खुसी पनि छौँ र उत्तिकै चिन्तित पनि छौँ।
खुसी यस मानेमा छौँ कि आज युवाहरूको आशा र भरोसाको दुई–तिहाइको सरकार बनेको छ। तर, चिन्ता यस मानेमा छ कि कतै यो सरकार व्यक्तिगत स्वार्थ र द्वन्द्वको भुमरीमा फसेर असफल त हुने होइन?
यदि यो सरकार व्यक्तिगत टकरावमा फस्यो भने नेपाली जनता सामाजिक, आर्थिक र भौतिक हिसाबले क्षतविक्षत हुनेछन्; सिङ्गो देशमा निराशाको बादल छाउनेछ र नेपाल फेरि ५० वर्ष पछाडि धकेलिनेछ! हामी त्यो भएको हेर्न चाहँदैनौँ।
हाम्रो मुख्य चुनौती भनेको कर्मचारीतन्त्र र प्रणालीमा आमूल परिवर्तन हो। आज कर्मचारी र सरकारबीच ठूलो अविश्वास पैदा भएको छ।
मैले व्यक्तिगत रूपमा के गरेँ, त्यो छोडिदिनुस्; मुख्य कुरा यो पुस्ताका लागि हामी निस्वार्थ रूपमा लड्यौँ कि लडेनौँ, त्यो प्रमुख हो। हामी कलङ्कको टीका लगाएर इतिहासमा चित्रित हुन चाहँदैनौँ।
विश्वको इतिहासमा घाइते, सहिद परिवार र आन्दोलनका योद्धाहरूको स्थान सधैँ उच्च हुन्छ। जसले आन्दोलनको मर्म बुझ्न सक्दैन, त्यो नेतृत्व पतनको दिशामा जान्छ!
हामीले ‘पात्र A’ लाई फालेर ‘पात्र B’ लाई ल्याउन मात्र रगतको आहाल बगाएका होइनौँ। हामीले त प्रणालीमा व्यापक सुधार गरी जनताको भाग्य र भविष्य मात्र होइन, वर्तमान सुधार्न खोजेका हौँ।
हिजोका शासकहरू त भागेर लुक्न सफल भए होलान्, तर आजका शासकहरू व्यक्तिगत स्वार्थमा चपक्क टाँसिएर जनतालाई धोका दिन्छन् भने, तिनीहरूले भोलि लुक्ने र भाग्ने ठाउँसमेत पाउने छैनन्!
३६ वर्षको पुराना दलहरूको कुशासनलाई मात्र १६ घण्टामा उखालेर फ्याँकिदिने मेरो पुस्तालाई यो समाजले सबैभन्दा बढी अपहेलित गरेको थियो। आज त्यही नपत्याएको पुस्ताले गरेको विद्रोहको जगमा हामी उभिएका छौँ।
आउने पिँढीलाई समृद्ध, न्यायपूर्ण र आत्मसम्मानले भरिएको नेपाल छोडेर जानु हाम्रो ऐतिहासिक जिम्मेवारी हो, जहाँ हरेक नागरिकले ‘राज्य मेरो अभिभावक हो’ भन्ने महसुस गरून् र नेपाली नागरिकले बाँकी विश्वका सामु कहिल्यै शिर झुकाउनु नपरोस्।
इतिहासका पानाहरूबाट पाठ सिकौँ। सहिद र घाइतेहरूको सपनालाई मार्गचित्र बनाएर अघि बढौँ। यदि यो सरकार असफल भयो भने यसको दोष इतिहासले जेन्जी आन्दोलनलाई दिनेछ, जुन हामीलाई कदापि स्वीकार्य छैन!
मलाई पूर्ण विश्वास छ—“यो देश पुरानो ढाँचा र प्रणालीले चल्दैन” भनेर मलाई गलत प्रमाणित गर्न यो सरकार सफल हुनेछ। म सरकारलाई शुभकामना दिन चाहन्छु।
हामीले भावी पुस्तालाई ऋण होइन, अवसर छोडेर जानुपर्छ। निराशा होइन, सम्भावना छोडेर जानुपर्छ। कमजोर राष्ट्र होइन, आत्मसम्मानले भरिएको समृद्ध नेपाल छोडेर जानुपर्छ।

जेनजि रिभोलुशन कोर्डिनेटर तथा अन्तरिम सरकार निर्माण बार्ता समिति सहसयोजक अर्जुन शाही
जेनजि रिभोलुशन कोर्डिनेटर तथा अन्तरिम सरकार निर्माण बार्ता समिति सहसयोजक अर्जुन शाही


बालेन शाह अब व्यक्ति मात्र होइनन्, उहाँ देशको प्रधानमन्त्री हुनुहुन्छ। उहाँले बोलेका प्रत्येक शब्दको हिसाब–किताब अब जनताले माग्नेछन्।
हामीले पुराना दलहरूलाई भनेका थियौँ—तिमीहरूको चाल र ढाल ठीक छैन, तिमीहरू सुध्रिनुपर्छ। तर, तिनीहरू बेलैमा सुध्रिन तयार भएनन्।
जुन संस्थाभित्र प्रश्न मर्छ, त्यो संस्थाले समाजमा प्रश्न गर्न सक्दैन; जसले प्रश्न गर्न सक्दैन, उसले उत्तर पनि खोज्न सक्दैन।
आज हामीले निर्णय गर्नुपर्छ—हामी गुनासो गर्ने पुस्ता बन्ने कि परिवर्तन गर्ने पुस्ता बन्ने?
जेन्जी आन्दोलन पनि कसैको निगाहमा गरिएको थिएन। त्यसैले सहिदहरूको सपना पूरा नगरी, जेन्जी आन्दोलनका घाइतेहरूको सपना पूरा नगरी, जेन्जी अगुवाहरूलाई नसम्झी, संस्थागत सुधार नगरी र यो व्यवस्थाभित्रको लोकतान्त्रिक पद्धतिलाई जीवित नराखी यो सरकार सफल हुन सक्दैन।
हाम्रा कयौँ साथीहरूलाई झुट्टा मुद्दामा कारागार पुर्‍याइएको छ। तिनीहरूको तत्काल बिनासर्त रिहाइ गर्न म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।
इतिहासले साहस गर्नेहरूलाई सम्झन्छ। इतिहासले तपाईंहरूलाई सम्झनेछ, तर त्यो सम्झना ‘नायक’ को रूपमा हुन्छ वा ‘पतन’ को रूपमा, त्यो तपाईंहरूको आजको निर्णय र कार्यले निर्धारण गर्नेछ।
आलोचना र मिडिया ट्रायलबाट हामी डराउने मान्छे होइनौँ। हामी डराएको भए जेन्जी आन्दोलनको हुँकार आउने थिएन; भ्रष्टाचारले डङडङ्ती गनाएका पात्रहरूको कठालो समातेर जेल कोच्ने साहस गर्ने थिएनौँ होला; पुराना शासकहरूलाई कुर्सीबाट लतारेर मकवानपुरको डाँडा पठाउने थिएनौँ होला!
त्यसैले जेन्जी आन्दोलनलाई अपराधीकरण गर्ने दुस्साहस कसैले नगरोस्। फेरि पनि त्यसो गर्ने आँट राज्यसत्ताले गर्छ भने त्यो हामीलाई क्षम्य हुने छैन।
हामी ती कहालीलाग्दा रातहरू सम्झिरहेका छौँ, जहाँ भाद्र २४ गते राति तत्कालीन प्रहरी प्रशासनले म र आदरणीय गृहमन्त्री सुदन गुरुङलाई मार्ने कोसिस गरेको थियो। हामीले त्यो रात करिब २५ ठाउँमा लोकेसन परिवर्तन गरेका थियौँ।
जेन्जी आन्दोलनलाई संस्थागत गर्न, राज्यविहीनताको अवस्थामा सबैलाई एकै ठाउँमा ल्याएर वार्ताको टेबलमा राख्यौँ र देशलाई शान्तिपूर्ण निकास दियौँ।
हामीले चाहेको भए छुट्टै सेना बनाउन सक्थ्यौँ, छुट्टै व्यवस्थामा सरकार चलाउन सक्थ्यौँ; तर हामीले व्यक्तिगत स्वार्थ त्यागेर संविधानलाई अक्षुण्ण राख्दै, संविधानभित्रै रहेर आमूल परिवर्तन गर्ने सर्तमा अगाडि बढ्ने निर्णय गर्‍यौँ।
हामीले सोच्यौँ—समस्या संविधानमा होइन, व्यक्ति र प्रवृत्तिमा छ। त्यो हाम्रो देश र जनताप्रतिको पूर्ण प्रतिबद्धता र इमानदारी थियो।
जेन्जी जनआन्दोलनले सबै बदल्यो, तर नेपाली समाजको चाकरीतन्त्र बदल्न सकेन, आसेपासेतन्त्र बदल्न सकेन; सिंहदरबारभित्रबाट बाहिर हेर्ने शासकको नजरिया बदल्न सकेन। चन्द्रशमशेरको सेन्टिमेन्ट जोडिएको सिंहदरबारले जनताको भाव बदल्न सकेन।
नयाँ हुनुको मतलब पुरानालाई गाली गरेर दोष थुपार्नु मात्र होइन; नयाँ हुनुको मतलब हिजोभन्दा बढी जिम्मेवार, हिजोभन्दा बढी परिस्कृत, हिजोभन्दा बढी लोकतान्त्रिक, हिजोभन्दा बढी सहनशील र हिजोभन्दा बढी परिपक्व हुनु हो।
हामी आज र हिजोमा के फरक छौँ त? भन्ने प्रत्यक्ष अनुभूति जनताले गर्न सकेनन् भने, हामीले जतिसुकै ठूला कुरा गरे पनि जनताले पत्याउनेवाला छैनन्।
जनताका न्यूनतम आवश्यकताहरू समेत राज्यले दिन सकिरहेको छैन। यस्तो पनि राज्य हुन्छ? कागजको खोस्टो दिएर कुनै राज्यले आफ्नो कर्तव्य निर्वाह गरेको ठान्छ भने त्यो अभिशाप नै हुनेछ।
परिवर्तन भनेको जनताको दैनिकीमा तात्त्विक परिवर्तन आयो कि आएन भन्ने कुरा हो।