
काठमाडौं । विगत साढे चार महिनादेखि बन्द रहेको रिपोर्टर्स क्लब नेपाल नयाँ स्वरूप र नयाँ थलोबाट पुनः सञ्चालनमा आएको छ । पुतलीसडकबाट पत्रकारिता र सार्वजनिक बहसको यात्रा सुरु गरेको क्लब भृकुटीमण्डप हुँदै काठमाडौंको थापागाउँस्थित नयाँ कार्यालय तथा हलबाट औपचारिक रूपमा पुनः सक्रिय भएको हो ।
विशेष कार्यक्रमबीच पुनः सञ्चालनमा आएको क्लबले अब नियमित साक्षात्कार, विचार–विमर्श तथा पत्रकार सम्मेलनलाई निरन्तरता दिने जनाएको छ । क्लबका संस्थापक अध्यक्ष तथा स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले लामो विश्रामपछि नयाँ स्थानबाट पुनरागमन गरेको क्लब अब कसैले पनि बन्द गर्न नसक्ने दाबी गरे । समसामयिक राजनीतिक, सामाजिक तथा राष्ट्रिय मुद्दालाई बहसमा ल्याउँदै जनताको आवाजलाई थप प्रभावकारी रूपमा उठाउने उनको भनाइ छ ।

अभिव्यक्ति तथा पत्रकारिताको स्वतन्त्रतामाथि कुनै पनि किसिमको बन्देज स्वीकार्य नहुने भन्दै धमलाले सरकारलाई स्वतन्त्रताको अधिकारमा अंकुश नलगाउन सचेत गराए । रिपोर्टर्स क्लब नेपाल र स्वतन्त्र नागरिक अभियान सरकारको नियतवश विरोधी नभएको स्पष्ट पार्दै उनले सरकारका राम्रा कामको समर्थन र गलत कामको खबरदारी गर्नु आफ्नो भूमिकाको हिस्सा भएको बताए ।
रिपोर्टर्स क्लबको पुनः सञ्चालनलाई नेपाली पत्रकारिताको महत्वपूर्ण घटनाका रूपमा व्याख्या गर्दै अधिवक्ता स्वागत नेपालले संस्थापक अध्यक्ष ऋषि धमलाको पत्रकारिताप्रतिको योगदानको प्रशंसा गरे । पत्रकारिताका नाममा लाभको पद खोज्ने प्रवृत्ति बढिरहेका बेला धमलाले निष्ठाका साथ आफ्नो पेशागत यात्रा निरन्तर अघि बढाएको उनको दाबी छ । क्लबको पुनरागमनसँगै सूचनाका लागि महत्वपूर्ण सार्वजनिक मञ्च फेरि सक्रिय भएको नेपालले बताए ।
कूटनीतिज्ञ तथा विश्लेषक हेमन्त सेढाईंले पनि रिपोर्टर्स क्लबले नेपाली पत्रकारितामा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । ऋषि धमलाले इमानदारी र निरन्तरताका साथ निर्वाह गरेको भूमिकाको सम्मान गर्नुपर्ने बताउँदै सेढाईंले राजनीतिक परिवर्तनका विभिन्न चरणदेखि आम नागरिक र सञ्चारमाध्यमलाई सूचना उपलब्ध गराउने अभियानमा क्लबको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिपोर्टर्स क्लब पुनः सञ्चालनमा आउनुलाई नेपाली पत्रकारिता क्षेत्रकै पुनर्जागरणका रूपमा चित्रण गरे । उनले ऋषि धमलालाई पत्रकारिता क्षेत्रको ‘जीवित इतिहास’को संज्ञा दिँदै राजतन्त्रदेखि गणतन्त्रसम्मका राजनीतिक परिवर्तनमा धमला र रिपोर्टर्स क्लबले निरन्तर भूमिका निर्वाह गरेको दाबी गरे । लोकतन्त्र र नागरिक अधिकारका पक्षमा क्लबले ‘स्थायी प्रतिपक्ष’को भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

क्लब पुनः सञ्चालनमा ल्याउन चुनौती सामना गर्नुपरेको उल्लेख गर्दै विश्लेषक डा. सुरेन्द्र केसीले आगामी दिनमा रिपोर्टर्स क्लब अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । क्लबको अभियानमा आफ्नो निरन्तर साथ रहने प्रतिबद्धता जनाउँदै उहाँले अन्य सञ्चारकर्मीले समेत धमलालाई साथ दिएकोमा खुशी व्यक्त गरे ।
त्यस्तै, राजनीतिक विश्लेषक रञ्जन खनालले रिपोर्टर्स क्लबको पुनरागमनलाई नेपाली राजनीतिमा ‘प्रतिपक्षी बेन्च’को पुनर्जन्मसँग तुलना गरे । उनले क्लबका संस्थापक अध्यक्ष ऋषि धमलालाई नेपाली पत्रकारिताको इतिहास तथा आवाजविहीनहरूको आवाजका रूपमा चित्रण गरे । रिपोर्टर्स क्लब केवल कार्यक्रम आयोजना गर्ने ठाउँ नभई राष्ट्रको धुकधुकी र नागरिकको आवाज बन्न सफल भएको खनालको दाबी छ ।
पुतलीसडकबाट सुरु भएको रिपोर्टर्स क्लब नेपालले लामो समयदेखि राजनीतिक, सामाजिक तथा समसामयिक विषयमा बहस र सार्वजनिक संवादका लागि मञ्च उपलब्ध गराउँदै आएको छ । विभिन्न राजनीतिक दलका नेता, मन्त्री, विज्ञ, कूटनीतिज्ञ, नागरिक अगुवा तथा सञ्चारकर्मीलाई एउटै मञ्चमा ल्याएर बहस गराउने क्लबको आफ्नै शैली रहँदै आएको छ ।
अब थापागाउँको नयाँ हलबाट क्लबले यही परम्परालाई निरन्तरता दिने जनाएको छ । साढे चार महिनाको बन्दपछि पुनः सञ्चालनमा आएको क्लबले नियमित साक्षात्कार, विचार–विमर्श र पत्रकार सम्मेलनमार्फत समसामयिक मुद्दामा सार्वजनिक बहसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
साढे चार महिनाको विश्रामपछि रिपोर्टर्स क्लब फेरि खुलेको छ । स्थान फेरिएको छ, तर प्रश्न गर्ने र सार्वजनिक बहसको मञ्च बन्ने आफ्नो पुरानो भूमिकालाई निरन्तरता दिने क्लबको दाबी छ । अब थापागाउँबाट पुनः सुरु भएको यो यात्राले नेपाली पत्रकारिता र सार्वजनिक बहसमा कस्तो प्रभाव पार्छ, त्यो भने आगामी दिनले देखाउनेछ ।






Facebook Comments