काठमाडौं । भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । नेपाली सेनाको हवाई साधनमार्फत सोमबार थप २० जनाको उद्धार गरिएको छ । यससँगै प्रभावित क्षेत्रबाट हालसम्म ४ हजार १७७ जनाको हवाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

उद्धार गरिएकामध्ये ३ हजार ८९४ जना नेपाली र २८३ जना विदेशी नागरिक छन् ।

बाढीबाट प्रभावित रसुवाका विभिन्न जलविद्युत आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा बेपत्ता भएकाको खोजी कार्यसमेत जारी छ । रसुवागढी जलविद्युत आयोजनामा आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले सुरुङ तथा प्रभावित क्षेत्रमा खोजी गरिरहेको छ ।

लाङ्गटाङ जलविद्युत आयोजनामा पनि विदेशी प्राविधिकसहितको संयुक्त टोलीले ड्रोनको प्रयोग गरी सुरुङभित्र खोजी गरेको छ । हालसम्म सुरुङभित्रबाट कुनै व्यक्ति वा शव फेला नपरेको नेपाली सेनाले जनाएको छ ।

चिलिमे जलविद्युत आयोजनामा भने एक्स्काभेटर र लोडरको प्रयोग गरी सुरुङ क्षेत्रमा थुप्रिएको भग्नावशेष हटाउने काम भइरहेको छ । हालसम्म करिब १०० मिटर भग्नावशेष हटाइएको छ । सुरुङभित्र पानीसमेत भेटिएकाले पानी हटाउने काम भइरहेको छ भने खोज तथा उद्धार टोलीले डोरीको सहायताले सुरुङभित्र प्रवेश गर्ने प्रयास गरिरहेको छ ।

चिलिमे क्षेत्रमा खोला वारपार गर्न तुइनसमेत जडान गरिएको छ । यसले स्याफ्रुबेँसीलाई स्थलमार्गबाट धुन्चेसम्म जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसैगरी, माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा नेपाली सेना तथा आयोजनाका प्रतिनिधिको टोलीले खोजी कार्य जारी राखेको छ । त्रिशूली–३ ‘ए’ आयोजनाको पावरहाउस तथा सुरुङ क्षेत्रमा पनि संयुक्त टोलीले खोजी गरिरहेको छ ।

त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनासहितको संयुक्त टोलीले एक्स्काभेटर र ब्याकहो लोडर प्रयोग गरी आयोजनाको आवासगृह, कार्यालय भवन तथा सुरुङ क्षेत्रमा खोजी गरिरहेको छ । अहिले टोली पावरहाउस क्षेत्रतर्फ खोजी केन्द्रित गरेर अघि बढिरहेको छ ।

जमिनतर्फ पनि प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई निरन्तरता दिइएको छ । रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायतका क्षेत्रमा पैदल गस्तीमार्फत खोजी भइरहेको छ ।

स्याफ्रुबेँसी क्षेत्रमा मात्रै तीन वटा समूह परिचालन गरेर खोजी कार्य भइरहेको नेपाली सेनाले जनाएको छ ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालित छन् । उनीहरूले स्थानीय निकाय तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पनि सञ्चालनमा राखिएको छ । नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट सोमबार ३१ जनाले स्वास्थ्य सेवा लिएका छन् । यी केन्द्र तथा टोलीबाट हालसम्म ३ हजार ७८४ जनाले स्वास्थ्य सेवा प्राप्त गरिसकेका छन् ।

यसैबीच, बाढीका कारण भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–३ स्थित शीतलबजारमा सडक सञ्चालनको प्रयास भइरहेको छ । सडक खुलाउन बाटोतर्फ रहेको कडा चट्टान फुटाउन विस्फोट गराउने काम भइरहेको नेपाली सेनाले जनाएको छ ।

बाढीका कारण सडक तथा पुलमा भएको क्षतिले प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्री पुर्‍याउन चुनौती कायमै रहेकाले नेपाली सेनाले खोज तथा उद्धारसँगै सडक र अन्य अत्यावश्यक पूर्वाधार सञ्चालनमा ल्याउने कामलाई समेत प्राथमिकतामा राखेको छ ।