नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा पछिल्लो समय शक्ति समीकरण फेरिन थालेको छ। केही समयअघिसम्म समानान्तर महाधिवेशनको तयारीमा रहेको पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरू नै सभापति गगन थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी हुन थालेपछि कांग्रेसभित्रको समीकरण बदलिएको देखिएको हो। थापा नेतृत्वले असन्तुष्ट पक्षका माग सम्बोधन गर्दै पूर्वकार्यसमितिका सदस्यलाई समेत समेट्ने निर्णय गरेपछि करिब ३१ नेता संस्थापन पक्षको प्रक्रियामा सहभागी हुने वातावरण बनेको छ।
सभापति थापाले पार्टीभित्रको विवादलाई थप चर्काउनेभन्दा असन्तुष्ट सबै पक्षलाई समेटेर अघि बढ्ने रणनीति लिएका छन्। केन्द्रीय कार्यसमितिको बैठकमा उनले आफू पार्टीलाई एकताबद्ध बनाउन हदैसम्म लचक हुन तयार रहेको बताएका छन्। पूर्णबहादुर खड्का पक्षले उठाएका आठबुँदे र शेखर कोइराला पक्षले उठाएका पाँचबुँदे मागमध्ये सम्बोधन गर्न सकिने विषयहरू अघि बढाइएको उनको दाबी छ।
विशेष महाधिवेशनपछि थापा नेतृत्वको कार्यसमितिबाट बाहिर रहेका तत्कालीन पदाधिकारी तथा केन्द्रीय सदस्यलाई पनि महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय कांग्रेसले गरेको छ। विशेष महाधिवेशनअघि कायम रहेको केन्द्रीय कार्यसमितिका सदस्यलाई वर्तमान कार्यसमितिमा समायोजन गर्ने निर्णयसँगै पूर्वदेउवा पक्षका नेताहरूलाई समेत महाधिवेशन प्रक्रियामा फर्किने बाटो खुलेको हो।
यसको प्रत्यक्ष प्रभाव पूर्वसभापति देउवा नेतृत्वको समूहमा परेको देखिन्छ। १४औँ महाधिवेशनमा देउवा पक्षबाट निर्वाचित भएका कैयौँ पदाधिकारी तथा नेताहरू अहिले थापा नेतृत्वको प्रक्रियामा सहभागी हुन थालेका छन्। पूर्णबहादुर खड्का पक्षका नेताहरूले महाधिवेशनमा सहभागी हुने निर्णय गर्नु र देउवा निकट मानिएका नेताहरू क्रमशः थापा पक्षतर्फ खुल्नु त्यसैको संकेत हो।
यसअघि देउवा पक्षले थापा नेतृत्वको महाधिवेशन प्रक्रियालाई अस्वीकार गर्दै समानान्तर महाधिवेशनको तयारी गरेको थियो। देउवाले समेत थापा नेतृत्वको महाधिवेशनमा सहभागी नहुन अपिल गरेका छन्। तर, देउवा पक्षकै नेताहरूको ठूलो समूह थापा नेतृत्वको प्रक्रियामा सहभागी हुन थालेपछि देउवाको रणनीतिमा चुनौती थपिएको छ।
थापाले भने विभाजनलाई थप गहिरो बनाउनेभन्दा पूर्वसभापति देउवालाई समेत सम्मानजनक रूपमा समेट्ने संकेत दिएका छन्। उनले असोज १६ गतेदेखि हुने १५औँ महाधिवेशनको उद्घाटन देउवाले नै गरिदिन आग्रह गरेका छन्। देउवा स्वयंलाई महाधिवेशनको उद्घाटनका लागि आमन्त्रण गर्नु थापाको ‘सबै पक्षलाई समेट्ने’ रणनीतिको अर्को महत्वपूर्ण संकेतका रूपमा देखिएको छ।
थापाले देउवालाई अब पार्टी सभापतिको प्रतिस्पर्धामा नभई पूर्वसभापति र वरिष्ठ नेताका रूपमा सम्मानपूर्वक व्यवस्थापन गर्ने संकेतसमेत दिएका छन्। यसले नेतृत्व हस्तान्तरणसँगै पुरानो नेतृत्वलाई पनि सम्मान दिने सन्देश दिन खोजिएको देखिन्छ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका पार्टीले सार्वजनिक गरिसकेको छ। वडा तहदेखि प्रदेशसम्मका अधिवेशन हुँदै केन्द्रीय महाधिवेशनमा पुग्ने प्रक्रिया अघि बढिरहेको छ।
तर कांग्रेसभित्रको विवाद भने पूर्ण रूपमा अन्त्य भइसकेको छैन। पूर्वउपसभापति पूर्णबहादुर खड्काले समेत पछिल्लो समय पार्टी एकता अझै सम्भव रहेको भन्दै सभापति थापालाई महाधिवेशनको कार्यतालिका केही समय स्थगित गरेर देउवा तथा अन्य अग्रज नेतासँग संवाद गर्न आग्रह गरेका छन्।
यस्तो अवस्थामा थापाको रणनीति केवल महाधिवेशन गराउनेमा सीमित नभई विवादमा रहेका समूहलाई एउटै प्रक्रियामा ल्याउनेतर्फ केन्द्रित देखिन्छ। असन्तुष्ट पक्षका माग सम्बोधन गर्ने, पुरानो कार्यसमितिका सदस्यलाई समायोजन गर्ने र पूर्वसभापति देउवालाई समेत महाधिवेशन उद्घाटनका लागि निम्तो दिने कदमले कांग्रेसभित्रको विभाजनलाई साँघुरो पार्ने प्रयासलाई देखाउँछ।
यसरी केही समयअघि दुई समानान्तर महाधिवेशनतर्फ धकेलिएको कांग्रेसको राजनीति अहिले फेरि एउटै महाधिवेशन प्रक्रियामा धेरै समूहलाई सहभागी गराउने दिशातर्फ अघि बढेको छ। शक्ति समीकरणमा आएको यही परिवर्तनले १५औँ महाधिवेशनमा नेतृत्वसँगै कांग्रेसको आन्तरिक एकताको स्वरूपसमेत निर्धारण गर्ने देखिन्छ।



Facebook Comments