काठमाडौँ,  स्वतन्त्र नागरिक अभियान, नेपालले राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक खण्डको दीर्घकालीन स्तरोन्नति, पहिरो नियन्त्रण तथा सहज आवागमन व्यवस्थापनको माग गर्दै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा. महावीर पुनलाई ज्ञापनपत्र बुझाएको छ।

अभियानका अध्यक्ष ऋषि धमला नेतृत्वको टोलीले स्थलगत अनुगमनपश्चात मन्त्री पुनलाई मन्त्रालयमै पुगेर उक्त ज्ञापनपत्र बुझाएको हो। म्याग्दी भएर हिमाली जिल्ला मुस्ताङ र उत्तर नाका कोरला जोड्ने यो सडक यस क्षेत्रको आर्थिक, सामाजिक, धार्मिक तथा पर्यटकीय जीवनरेखा (Lifeline) को रूपमा रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

वर्षायाममा सास्ती र गम्भीर असर प्रत्येक वर्षको वर्षायाममा कालीगण्डकी किनारको कमजोर भू-बनोटका कारण म्याग्दी र मुस्ताङ खण्डका विभिन्न स्थानमा साना-ठूला पहिरो र लेदोका कारण यात्रु तथा स्थानीय बासिन्दाले ठूलो सास्ती व्यहोर्नुपरेको अभियानले जनाएको छ। सडक अवरुद्ध हुँदा बिरामी, पर्यटक तथा दैनिक उपभोग्य वस्तु र औषधिको ढुवानीमा गम्भीर असर पर्दै आएको छ।

 समस्याको दीर्घकालीन समाधानका लागि अभियानले निम्न प्रमुख मागहरू अघि सारेको छ፦

स्थायी पहिरो नियन्त्रण: म्याग्दी खण्डका राहुघाट, बैसरी, बेगखोला, भिरकाटे, सिरुवारी, तातोपानी, रूपसे छहरा, लाताखोला तथा मुस्ताङको घोंसा र लेते (सेतोखोला) क्षेत्रमा तत्काल बायो-इन्जिनियरिङ, पक्की रिटेनिङ वाल वा पर्खाल निर्माण गरी स्थायी समाधान गरिनुपर्ने।

स्तरोन्नतिमा तीब्रता: गलेश्वरदेखि लेतेसम्मका सडक खण्डहरूमा हाल भइरहेको सडक ढलान (RCC/PCC) तथा स्तरोन्नति कार्यलाई तोकिएको समयसीमाभित्रै गुणस्तरीय रूपमा सम्पन्न गर्न कडा अनुगमन गरिनुपर्ने।

आपत्कालीन प्रतिक्रिया टोली (Emergency Response): मनसुन अवधिभर जोखिमयुक्त ठाउँमा सडक अवरुद्ध हुनेबित्तिकै खुलाउन आवश्यक हेभी इक्विपमेन्ट (डोजर/एक्सकाभेटर) र जनशक्ति २४सै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइनुपर्ने।

नाला तथा ढल व्यवस्थापन: सिरुवारी, बेगखोला र रूपसे क्षेत्रमा माथिबाट आउने लेदो र भलपानीलाई सडकबाट सुरक्षित रूपमा पन्छाउन व्यवस्थित नाला तथा कभर्ट निर्माण गरिनुपर्ने।

म्याग्दी र मुस्ताङका बासिन्दा तथा मुक्तिनाथ र कोरला जाने हजारौँ स्वदेशी एवं विदेशी पर्यटकको सुरक्षा र सहजतालाई ध्यानमा राखी ज्ञापनपत्र बमोजिमका कार्यहरू शीघ्र अगाडि बढाउन मन्त्री पुनसमक्ष जोडदार आग्रह गरिएको छ।