भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ । आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र खोजी गर्ने क्रममा ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शव फेला पारेको हो ।
उद्धार टोलीले ग्राइन्डर, ग्यास कटर र रोटरी उद्धार उपकरणको प्रयोग गरी ६ वटै शव सुरुङबाट बाहिर निकालेको जनाएको छ । सुरुङभित्र हिलोले पुरिएको अवस्थामा थप शवजस्तो आकृति देखिएकाले उक्त क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ । हिलो र भत्किएका संरचनाका कारण सुरुङभित्र उद्धार कार्य चुनौतीपूर्ण बने पनि उपलब्ध उपकरणको प्रयोग गर्दै सम्पर्कविहीनहरूको खोजी भइरहेको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीले माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको थियो । बाढीपछि आयोजनासँग सम्बन्धित केही व्यक्ति सम्पर्कविहीन भएका थिए ।
यसैबीच, भोटेकोसी बाढी र त्यसबाट प्रभावित क्षेत्रमा मृत्यु हुनेको संख्या १ हजार ४१० पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा बढी ३४६ जनाको शव फेला परेको छ । नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३, रसुवामा १९१, गोरखामा ७८, धादिङमा ५२, तनहुँमा ३६ र काठमाडौंमा २ जनाको शव फेला परेको छ ।
बाढीपछि हालसम्म १३ हजार ९७६ जनाको उद्धार गरिएको छ भने विभिन्न सुरक्षा निकायबाट ९ हजार ८२० जनाले उपचार पाएका छन् । उपचाररत ३४८ जनामध्ये २९० जना डिस्चार्ज भइसकेका छन् । प्राधिकरणका अनुसार अझै ६ हजार १४५ जना बेपत्ता छन् । बेपत्तामध्ये रसुवाका ३ हजार ९०० भन्दा बढी र नुवाकोटका २ हजारभन्दा बढी छन् ।
हराइरहेकाको खोजी तथा पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९४४ गरी ३ हजार २३० वटा डीएनए नमुना संकलन गरिएको छ ।
उता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १४ अर्ब ५६ करोड ३८ लाख ७ हजार ५५६ रुपैयाँ मौज्दात रहेको छ । कोषबाट रसुवाको भोटेकोसी बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपैयाँ निकासा भइसकेको छ ।
सरकारले रसुवाका बाढी प्रभावित परिवारलाई आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र थप प्रत्येक सदस्यका लागि २ हजार रुपैयाँ अतिरिक्त उपलब्ध गराइने भएको छ ।






Facebook Comments