नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत आजदेखि देशभरका वडा अधिवेशनहरू औपचारिक रूपमा सुरु भएका छन्। पार्टी केन्द्रीय निर्वाचन समितिले स्थानीय अनुकूलतालाई ध्यानमा राख्दै शनिबार र आइतबार दुई दिनभित्र वडा अधिवेशन सम्पन्न गर्न सक्ने निर्णय गरेको छ।

२०८२ पुससम्म क्रियाशील सदस्यता नवीकरण गरेका सम्पूर्ण क्रियाशील सदस्यहरूले आ–आफ्नो वडाको अधिवेशनमा सक्रिय सहभागिता जनाउँदै छन्। पार्टी सभापति गगन थापाले यस लोकतान्त्रिक अभ्यासमा उत्साहका साथ सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्यहरूलाई आह्वान गरिसक्नुभएको छ।

वडा कार्यसमितिको गठन र पदाधिकारीहरू

वडा अधिवेशनमा सम्बन्धित वडा क्षेत्रभित्रका सबै क्रियाशील सदस्यहरू मतदाता तथा सदस्य हुनेछन्। अधिवेशनले प्रत्यक्ष रूपमा निम्नलिखित पदाधिकारीहरू निर्वाचित गर्नेछ:

  • सभापति:१ जना

  • उपसभापति:२ जना (एक महिलासहित)

  • सचिव:१ जना

  • सह–सचिव:१ जना

  • कोषाध्यक्ष:निर्वाचित वडा सभापतिले निर्वाचित कार्यसमितिबाट १ जना कोषाध्यक्ष मनोनीत गर्न पाउनेछन्।

वडा सदस्य र समावेशी मनोनयनको प्रावधान

स्थानीय तहको संरचनाअनुसार वडा सदस्यहरूको प्रत्यक्ष निर्वाचन र सभापतिले गर्ने मनोनयनमा फरक-फरक व्यवस्था गरिएको छ:

  • गाउँपालिका वडा:कम्तीमा २ महिला, १ दलित र ३० वर्ष मुनिका १ युवासहित७ जनाप्रत्यक्ष निर्वाचित हुनेछन्। सभापतिले ५ जना मनोनीत गर्न पाउनेछन्।

  • नगर तथा उपमहानगरपालिका वडा:कम्तीमा २ महिला, १ दलित र ३० वर्ष मुनिका २ युवासहित८ जनाप्रत्यक्ष निर्वाचित हुनेछन्। सभापतिले ६ जना मनोनीत गर्न पाउनेछन्।

  • महानगरपालिका वडा:कम्तीमा ३ महिला, १ दलित र ३० वर्ष मुनिका ३ युवासहित११ जनाप्रत्यक्ष निर्वाचित हुनेछन्। सभापतिले ७ जना मनोनीत गर्न पाउनेछन्।

समावेशी र समानुपातिक सिद्धान्त:वडा सभापतिले कार्यसमितिमा अनिवार्य रूपमाएकतिहाइ (३३%) महिलासहभागिता गराउनुपर्नेछ। साथै, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र युवाको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी सदस्यहरू मनोनीत गर्नुपर्ने वैधानिक प्रावधान छ।

क्षेत्रीय प्रतिनिधिको चयन कसरी हुन्छ?

वडा अधिवेशनबाटै क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू पनि चयन हुनेछन्। क्रियाशील सदस्य संख्याका आधारमा प्रतिनिधि छनोटको व्यवस्था गरिएको छ:

  • १५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडा:कम्तीमा ३ महिला र १ श्रमिक वा पेसागत क्षेत्रसहित ९ जना, तथा ३० वर्ष उमेर नपुगेका १ महिलासहित ३ युवा गरी प्रत्यक्ष प्रतिनिधि चयन हुन्छन्।

  • १५० भन्दा बढी क्रियाशील सदस्य भएको वडा:बढीमा ५५ को सीमाभित्र रही प्रत्येक १५० थप क्रियाशील सदस्यमा २ महिला र १ युवासहित ६ जना थप प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुनेछन्।

  • समानुपातिक प्रतिनिधित्व:महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक र पिछडिएको क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने संख्याको ५० प्रतिशतमा वडाको जनसंख्याको बनोटअनुसार समानुपातिक आधारमा प्रतिनिधि निर्वाचित हुनेछन्। अपाङ्गता भएका र दलित क्रियाशील सदस्यबाट एक–एक जना प्रतिनिधि चयन अनिवार्य छ।

  • पदेन प्रतिनिधि:वडा कार्यसमितिका सभापति स्वतः क्षेत्रीय अधिवेशन प्रतिनिधि मानिनेछन्।

उम्मेदवारी योग्यता: के छ नयाँ व्यवस्था?

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट संशोधित विधानअनुसारवडा कार्यसमिति सभापतिको उम्मेदवार बन्नका लागि कुनै पनि निश्चित समयावधिको क्रियाशील सदस्यताको योग्यता तोकिएको छैन, जसले गर्दा नयाँ तथा युवाहरूलाई नेतृत्वमा आउन सहज भएको छ।

तर, १५औं महाधिवेशन निर्वाचन निर्देशिका, २०८३ अनुसार अन्य माथिल्लो तहका उम्मेदवारका लागि भने स्पष्ट योग्यता निर्धारण गरिएको छ:

  • गाउँ/नगरपालिका सभापति, प्रदेशसभा सभापति, क्षेत्रीय सभापति, जिल्ला उपसभापति र सचिव:कम्तीमा ५ वर्ष क्रियाशील सदस्य भएको हुनुपर्ने।

  • जिल्ला सभापति, प्रदेश सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य:कम्तीमा १० वर्ष क्रियाशील सदस्यता लिएको हुनुपर्ने।

  • केन्द्रीय पदाधिकारी:१० वर्ष निरन्तर क्रियाशील।

  • केन्द्रीय सभापति:१५ वर्ष निरन्तर क्रियाशील।

विशेष छुट:३५ वर्ष मुनिका युवा, सांगठनिक समायोजन भई आएका र पेसागत–श्रमिक क्षेत्रका सदस्यहरूको हकमा भने यो समयसीमा लागू हुनेछैन।

वडा तहबाटै सुरु भएको यो चुनावी महाअभियानले कांग्रेसभित्र नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। अधिवेशनका बैठकहरू प्रत्येक महिना कम्तीमा एक पटक बस्नुपर्ने विधानमा व्यवस्था छ।