काठमाडौँ — कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा घर नक्सा पास सेवाबाट रू. ५३ लाख ७४ हजार २६७ रुपैयाँ ७३ पैसा राजस्व सङ्कलन गरेको छ। चालु आर्थिक वर्षको साउन र भदौ दुई महिनामा गरी कुल रू. १ करोड ५५ लाख ३८ हजार ८३५ रुपैयाँ २४ पैसा राजस्व सङ्कलन भएको नगरपालिकाको तथ्याङ्कले देखाएको छ।

नगरपालिकाको भवन निर्माण तथा सहरी विकास शाखाले सार्वजनिक गरेको नक्सा पास विवरण अनुसार भदौ महिनामा विभिन्न वडाबाट कुल ४८ वटा नयाँ नक्सा स्वीकृत भएका छन्। त्यस्तै ७६ वटा सुपर स्ट्रक्चर अनुमति, ५७ वटा निर्माण सम्पन्न प्रमाणपत्र, ५४ वटा नामसारी, २ वटा नवीकरण र २९ वटा नक्सा संशोधन गरिएका छन्।

साउनदेखि भदौ महिनासम्मको कुल तथ्याङ्क हेर्दा नगरपालिकाभरि ९७ वटा नयाँ नक्सा पास, १२२ वटा सुपर स्ट्रक्चर अनुमति, ९७ वटा निर्माण सम्पन्न प्रमाणपत्र, ११२ वटा नामसारी, ३ वटा नवीकरण र ४० वटा नक्सा संशोधन भएका छन्।

वडागत अवस्था:

  • नयाँ नक्सा पास:भदौ महिनामा सबैभन्दा बढी वडा नं. ७ (अमरसिंहचोक) मा १२ वटा र वडा नं. ६ (मूलपानी) मा ११ वटा नयाँ नक्सा पास भएका छन्।
  • सुपर स्ट्रक्चर:वडा नं. ६ मा सबैभन्दा बढी १७ वटा र वडा नं. ४ (डाँछी) मा १३ वटा घरको सुपर स्ट्रक्चर अनुमति दिइएको छ।
  • निर्माण सम्पन्न:निर्माण सम्पन्नको हकमा पनि वडा नं. ६ अगाडि रहेको छ, जहाँ १८ वटा घरले निर्माण सम्पन्न प्रमाणपत्र पाएका छन्। त्यसैगरी वडा नं. ८ (तेज विनायक) मा १३ वटा निर्माण सम्पन्न भएका छन्।
  • नामसारी:वडा नं. ७ मा १६ वटा र वडा नं. ९ (गोठार्टार) मा १५ वटा नामसारीका काम सम्पन्न भएका छन्।

 

नगरपालिकाका अनुसार पछिल्लो समय भौतिक पूर्वाधार निर्माण तथा सहरीकरण तीव्र भएसँगै नक्सा पास तथा यससँग सम्बन्धित प्रशासनिक सेवा लिने नगरवासीको सङ्ख्या बढ्दै गएको छ।