न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ८१औँ महासभाको साधारण बहसका क्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको उच्च कूटनीतिक सक्रियता देखिएको छ। 'विश्वास पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन : सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ' भन्ने मूल नाराका साथ सुरु भएको साधारण बहसको उद्घाटन समारोहमा उनी सहभागी भए। महासभाका अध्यक्ष डा. खलिलुर रहमानले शुभारम्भ गरेको उक्त समारोहमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससमेत विभिन्न सदस्य राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूले सम्बोधन गरेका थिए। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका प्रधानमन्त्री बालेन्द्र शाहले सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
मन्त्री खनालको न्यूयोर्क बसाइका क्रममा भारतसँगको सम्बन्ध र उच्चस्तरीय भेटवार्ताले विशेष प्राथमिकता पाएको छ। भारतद्वारा आयोजित 'उज्ज्वल भविष्यतर्फ सँगसँगै अघि बढ्दै : सशक्त ग्लोबल साउथका लागि बलियो आधार' विषयक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले साझा विश्वव्यापी चुनौती सामना गर्न ग्लोबल साउथका मुलुकहरूबीच ऐक्यबद्धता, दक्षिण-दक्षिण सहकार्य र न्यायपूर्ण विश्वव्यापी शासन संरचनाको आवश्यकतामा जोड दिए।
सोही अवसरमा भारतका विदेशमन्त्री एस जयशंकरसँग भएको द्विपक्षीय भेटवार्ता विशेष महत्त्वपूर्ण रह्यो। भेटमा मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले देखाएको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको राहत सहयोगप्रति हार्दिक आभार व्यक्त गरे। दुवै मन्त्रीबीच नेपाल-भारत सम्बन्धका विविध पक्ष, विकास सहकार्य र आपसी हितका विषयमा गहन छलफल हुनुका साथै द्विपक्षीय घनिष्ठ सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त भयो।
कूटनीतिक भेटघाटलाई निरन्तरता दिँदै मन्त्री खनालले स्लोभाक गणतन्त्रका विदेश तथा युरोपेली मामिलामन्त्री जुराज ब्लानार र माल्दिभ्सका विदेशमन्त्री इरुथिशाम आदमसँग छुट्टाछुट्टै द्विपक्षीय वार्ता गरी बहुपक्षीय सहकार्यका विषयमा विचार आदानप्रदान गरे।
त्यस्तै, अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरसँगको भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने, भोटेकोशीको जलवायुजन्य बाढीपछिको राहत तथा पुनरुत्थान प्रयासमा अमेरिकी सहयोगबारे छलफल भयो। अमेरिकी चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल केशपसँग भएको भेटमा नेपालमा लगानी विस्तार, आर्थिक सम्बन्ध अभिवृद्धि र व्यावसायिक साझेदारीमा जोड दिइयो।
भ्रमणका क्रममा नेपालको कूटनीतिक पहुँच विस्तारमा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ। परराष्ट्रमन्त्री खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कर्नवालले नेपाल र ग्रेनाडाबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरे। योसँगै नेपालको कूटनीतिक सम्बन्ध विस्तार भई १८६ मुलुक पुगेको छ। हस्ताक्षरअघि दुई मन्त्रीबीच दिगो विकास, जलवायु परिवर्तन, पर्यटन र शिक्षा क्षेत्रमा सहकार्यबारे छलफल भएको थियो। साँझ मन्त्री खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पद्वारा आयोजित स्वागत समारोहमा सहभागी भए।
यसैबीच, नेपाली प्रतिनिधिमण्डलका तर्फबाट परराष्ट्र सचिव अमृतबहादुर राईले 'सन् २०३० भन्दा पछिसम्म : गरिबीका सबै आयाम अन्त्य गर्ने विश्वव्यापी प्रतिबद्धताको नवीकरण' विषयक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु न्याय र वित्तीय अन्तर कम गर्न आह्वान गरे। सचिव राईले भूपरिवेष्टित विकासशील देशहरूका लागि अन्तर्राष्ट्रिय थिंक ट्यांकका कार्यकारी निर्देशक दुल्गुन डाम्डिन-ओडसँग पनि भेट गरी कनेक्टिभिटी, उड्डयन, जलवायु परिवर्तन र 'आज्वा प्रोग्राम अफ एक्सन'को प्रभावकारी कार्यान्वयनबारे छलफल गरेका थिए।






Facebook Comments