मनसुन सकिनै लाग्दा फेरि मौसम सक्रिय हुने संकेत देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि शुक्रबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको भन्दै चेतावनी जारी गरेको छ । शुक्रबारसम्म आइपुग्दा देशका धेरैजसो भूभागमा वर्षाको जोखिम बढ्ने र कोशी तथा मधेशका केही क्षेत्रमा भने हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।
मौसम पूर्वानुमान महाशाखाले असोज ७ गते बुधबारदेखि असोज ९ गते शुक्रबारसम्मको मौसम चेतावनी नक्सा सार्वजनिक गरेको छ । नक्साअनुसार बुधबार देशका केही पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा भने केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना औँल्याइएको छ ।
बुधबार राति कोशी प्रदेशको हिमाली, पहाडी र तराई भूभाग, बागमती प्रदेशको पहाडी तथा तराई भूभाग र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाले ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
असोज ८ गते बिहीबार भने वर्षाको दायरा थप विस्तार हुने देखिएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा धेरै भारी वर्षा हुनसक्ने तथा मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिहीबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
शुक्रबारसम्म आइपुग्दा मौसमको जोखिम अझ बढ्ने देखिएको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा अतिभारी वर्षा हुनसक्ने महाशाखाको चेतावनी छ ।
शुक्रबार राति देशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् ।
मनसुन बाहिरिने चरणमा रहे पनि वर्षाको जोखिम भने तत्काल घट्ने देखिएको छैन । लगातारको वर्षाले पहिरो, बाढी र डुबानको जोखिम बढाउन सक्ने भएकाले नदी आसपास, पहाडी भेग तथा कमजोर भू–बनोट भएका क्षेत्रमा विशेष सतर्कता आवश्यक देखिन्छ । मौसममा आएको परिवर्तनसँगै महाशाखाले जारी गर्ने नयाँ सूचना र पूर्वानुमानमा ध्यान दिन पनि आग्रह गरिएको छ ।






Facebook Comments