काठमाडौँ ।देशभर भइरहेको वर्षासँगै प्रमुख नदी तथा खोलामा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले कोशी, नारायणी, कर्णाली र महाकालीसहितका प्रमुख नदीमा आगामी पाँच दिनसम्म बहाव बढ्ने आकलन गर्दै जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार बिहीबार बिहानसम्म कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती लगायतका नदीको बहाव सतर्कता तहभन्दा निकै तल छ । तर, वर्षाको प्रभावका कारण आजदेखि असोज १२ गतेसम्म यी नदीमा पानीको बहाव क्रमशः बढ्दै जाने पूर्वानुमान गरिएको छ ।

कोशी जलाधारका सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशी नदीमा आजैदेखि जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना छ । कन्काई र कमला नदीमा पनि पानीको बहाव बढ्ने महाशाखाले जनाएको छ ।

नारायणी, कर्णाली र महाकाली जलाधारका प्रमुख नदीमा भने बिहीबार बहाव सामान्य रूपमा बढ्ने अनुमान छ । तर, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती, बडिगाड र कालीगण्डकीसहित नारायणी प्रणालीका नदीमा असोज ९ देखि १२ गतेसम्म बहाव उल्लेख्य बढ्न सक्नेछ ।

त्यस्तै, कर्णाली प्रणालीका ठूली भेरी, भेरी र पश्चिम सेतीलगायत नदीमा पनि आगामी केही दिन पानीको बहाव बढ्नेछ । बागमती, पूर्वी राप्ती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती र बबई नदीमा समेत शुक्रबारदेखि लगातार चार दिनसम्म जलसतह बढ्ने पूर्वानुमान गरिएको छ ।

ठूला नदीमा मात्रै होइन, साना नदी तथा खोलामा पनि आकस्मिक बाढीको जोखिम देखिएको छ ।महाशाखाले ताप्लेजुङदेखि कालिकोटसम्मका विभिन्न जिल्लाबाट बहने साना नदी तथा खोलामा आजैदेखि पानीको बहाव बढ्न सक्ने जनाएको छ ।

कोशी प्रदेशका इलाम, झापा, मोरङ र सुनसरीदेखि मधेश प्रदेशका सप्तरी, सिरहा, पर्सालगायत जिल्लाका साना नदी तथा खोलामा बाढीको जोखिम छ । बागमती प्रदेशका काठमाडौँ, ललितपुर र भक्तपुरसहित दोलखा, सिन्धुपाल्चोक, धादिङ र चितवनमा पनि जोखिम औँल्याइएको छ ।

गण्डकी प्रदेशका गोरखा, कास्की, मनाङ, मुस्ताङ र बागलुङ तथा लुम्बिनी र कर्णालीका रुकुम, रोल्पा, बाँके, बर्दिया, सुर्खेत र जुम्लालगायत जिल्लामा पनि साना नदी तथा खोलाको बहाव बढ्न सक्नेछ ।

महाशाखाले देशभरका जोखिमयुक्त क्षेत्रमा साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्ने रआकस्मिक बाढीको मध्यम जोखिमरहेको जनाएको छ । लगातारको वर्षा र नदीमा बढ्दो जलसतललाई ध्यानमा राख्दै नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन र जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरिएको छ ।