
तनहुँ ।नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ (ख) बाट प्रदेश प्रतिनिधि (पेशागत विषय विज्ञ) पदमा पूर्व जिल्ला शिक्षा अधिकारी तथा शिक्षाविद् देवेन्द्रराज खनालले उम्मेदवारी घोषणा गर्नुभएको छ।
लामो समय शिक्षा क्षेत्रमा सक्रिय रहँदै प्रशासनिक तथा शैक्षिक सुधारमा योगदान पुर्याउनुभएका खनालले पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउन आफ्नो अनुभव तथा विज्ञता उपयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
एमफिल (M.Phil.) सम्मको उच्च शिक्षा हासिल गर्नुभएका खनाल जिल्ला शिक्षा अधिकारीका रूपमा समेत कार्यसम्पादन गरिसक्नुभएको छ। शिक्षा प्रशासन र शैक्षिक क्षेत्रको लामो अनुभवलाई अब पार्टीको नीति निर्माण, संगठन सुदृढीकरण तथा सामाजिक रूपान्तरणमा उपयोग गर्ने उहाँको भनाइ छ।
‘परम्पराको सम्मान, परिवर्तनको संवाहक, समुन्नत नेपालको लागि सबल कांग्रेस अबको विकल्प’भन्ने मूल नारासहित उम्मेदवारी घोषणा गर्नुभएका खनालले‘गौरव, गति र गन्तव्य’को नीतिलाई अघि बढाउने बताउनुभएको छ।
पार्टीभित्र पेशागत तथा विज्ञ वर्गको प्रभावकारी प्रतिनिधित्व, नीति निर्माण र योजना तर्जुमामा विषयगत ज्ञानको उपयोग तथा संगठनलाई थप गतिशील बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राखेको उहाँले बताउनुभएको छ।
तनहुँ क्षेत्र नम्बर १ (ख) का कांग्रेस नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूमाझ खनालको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ। शिक्षा क्षेत्रको अनुभव, प्रशासनिक कार्यसम्पादन र विषयगत विज्ञतामार्फत पार्टीलाई थप अनुशासित, गतिशील र जनमुखी बनाउन योगदान पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभएको छ।



Facebook Comments