
काठमाडौं ।दसैंको मुखमा आएको बाढीपहिरोले नेपालको विद्युत् प्रणालीमा ठूलो क्षति पु¥याएको छ । भदौ १० गते भोटेकोशीमा आएको बाढी र असोज ९ गतेपछिको अविरल वर्षाका कारण जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा करिब ६२० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ ।
प्राकृतिक विपत्तिका कारण उत्पादन संरचना मात्रै प्रभावित भएका छैनन्, विद्युत् प्रसारणका महत्वपूर्ण पूर्वाधारसमेत क्षतिग्रस्त भएका छन् । भोटेकोशी बाढीले माथिल्लो त्रिशूली–३ बी आयोजनाको २२० केभी हबमा क्षति पु¥याएको छ । नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीका संरचनामा भएको प्रारम्भिक क्षति मात्रै करिब ७४ अर्ब रुपैयाँ बराबरको रहेको बताइएको छ ।
त्यस्तै, कालीगण्डकी करिडोरअन्तर्गत दाना–कुश्मा २२० केभी प्रसारण लाइनका टावरहरूमा क्षति पुगेपछि करिब सातवटा जलविद्युत् आयोजनाको १९० मेगावाट विद्युत् प्रसारण प्रभावित भएको छ । यसले जलविद्युत् आयोजना सञ्चालनमा रहे पनि प्रसारण पूर्वाधार क्षतिग्रस्त हुँदा उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्न नसकिने जोखिम देखाएको छ ।
हाल वर्षायाम भएकाले नदीमा पानीको बहाव उच्च छ । केही आयोजनाहरू मर्मतपछि पुनः सञ्चालनमा आएकाले तत्काल विद्युत् आपूर्ति व्यवस्थापन गर्न सहज हुने प्राधिकरणको आकलन छ । तर, दसैंपछि सुरु हुने सुक्खायाममा भने विद्युत् व्यवस्थापन थप चुनौतीपूर्ण बन्ने देखिएको छ ।
नेपालका अधिकांश जलविद्युत् आयोजना नदीको बहावमा आधारित अर्थात् ‘रन अफ द रिभर’ प्रकृतिका छन् । हिउँदमा नदीमा पानीको बहाव घट्दा यस्ता आयोजनाको उत्पादन क्षमता उल्लेख्य रूपमा कम हुने गर्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले समेत सुक्खायाममा उत्पादन घट्ने अवस्थाका कारण विद्युत् व्यवस्थापन चुनौतीपूर्ण हुने बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरणको आकलनअनुसार आगामी हिउँदमा स्वदेशी उत्पादनबाट करिब १ हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुनेछ । गत हिउँदमा नेपालको उच्चतम विद्युत् माग २ हजार २९२ मेगावाटसम्म पुगेको थियो । माग र स्वदेशी उत्पादनबीच ठूलो अन्तर रहने भएकाले त्यसलाई पूर्ति गर्न प्राधिकरणले भारतबाट अधिकतम १ हजार १५४ मेगावाटसम्म विद्युत् आयात गर्ने तयारी गरेको छ ।
तर, बाढीपहिरोले क्षतिग्रस्त उत्पादन तथा प्रसारण संरचना सुक्खायामअघि नै पूर्ण रूपमा पुनःस्थापना हुन नसके भारतबाट विद्युत् आयातमा नेपालको निर्भरता थप बढ्ने जोखिम छ । क्षतिग्रस्त संरचनाको निरीक्षण र मर्मतमा सडक सञ्जालमा भएको क्षतिले समेत कठिनाइ थपेको प्राधिकरणले जनाएको छ ।
विद्युत् आपूर्ति सहज राख्न प्राधिकरणले क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापनालाई तीव्रता दिनुपर्ने अवस्था छ । साथै, वैकल्पिक प्रसारण मार्गको व्यवस्थापन, सीमापार प्रसारण क्षमताको भरपर्दो उपयोग र विद्युत् आयातको सुनिश्चितता पनि महत्वपूर्ण चुनौती बनेका छन् ।
हालको विपत्तिले नेपालको विद्युत् क्षेत्रमा उत्पादन क्षमता विस्तारसँगै प्रसारण पूर्वाधारको सुरक्षा र विपद् जोखिम व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्नुपर्ने देखाएको छ । दसैंपछि सुरु हुने सुक्खायाममा विद्युत् संकट आउन नदिन क्षतिग्रस्त संरचना समयमै पुनःस्थापना गर्नु प्राधिकरणका लागि तत्कालको मुख्य चुनौती बनेको छ ।






Facebook Comments