काठमाडौै । सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीमाथि प्रश्नैप्रश्न उठाएका छन् । मन्त्रालयसँग जोडिएको विवादास्पद अडियो प्रकरणदेखि किसानले मल नपाएको, टेन्डरमा ढिलाइ भएको र वितरण प्रणालीमा चुहावट भएको विषयसम्म सत्तारुढ दलकै सांसदले मन्त्रीसँग जवाफ मागेका हुन् । संघीय संसद्अन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा रास्वपाकै सांसद पुनम अग्रवालले सामाजिक सञ्जालमा भाइरल भएको मन्त्री चौधरीसँग जोडिएको अडियोबारे स्पष्ट पार्न आग्रह गरिन् । अडियोमा दुई व्यक्तिले कृषि, वन तथा पर्यावरणमन्त्री चौधरी, गृहमन्त्री सुधन गुरुङ र रास्वपा सांसद ठाकुरसिंह थारुको नाम लिँदै लेनदेनको विषयमा कुराकानी गरेको सुनिन्छ । त्यसमध्ये एक व्यक्तिले मन्त्री चौधरीलाई आफ्नो ‘मामाको छोरी’ भनेर चिनाएको दाबीसमेत अडियोमा गरिएको छ । यस विषयमा सांसद अग्रवालले प्रश्न उठाकी हुन् । 

समितिमा जवाफ दिँदै मन्त्री चौधरीले भने अडियोमा बोल्ने व्यक्तिहरूसँग आफ्नो कुनै व्यक्तिगत वा पारिवारिक सम्बन्ध नरहेको दाबी गरिन् । प्रकरण कानुनी प्रक्रियामा गइसकेकाले अनुसन्धान भइरहेको विषयमा थप टिप्पणी गर्न नमिल्ने उनको भनाइ थियो । आफू लामो समयदेखि सुशासनका पक्षमा काम गर्दै आएको उल्लेख गर्दै मन्त्री चौधरीले प्रमाण भए आफू सामना गर्न तयार रहेको बताइन् । 

तर बैठकमा उठेका प्रश्न अडियो प्रकरणमा मात्र सीमित रहेनन् । मन्त्री चौधरीको करिब ६ महिने कार्यसम्पादनमाथि समेत सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाए । किसानले खेतमा मल नपाइरहेको अवस्थामा मन्त्रालयको तथ्यांकमा भने पर्याप्त मल उपलब्ध देखिनुबीचको विरोधाभासबारे सांसदहरूले जवाफ मागे । रास्वपाका सांसद खगेन्द्र कर्णले मन्त्रालयको काममा ढिलासुस्ती भइरहेको भन्दै टेन्डर प्रक्रिया र मल वितरण प्रणालीप्रति प्रश्न उठाए । टेन्डरमा ढिलाइ र वितरणमा हुने चुहावटको प्रत्यक्ष असर किसानले भोगिरहेको उनको भनाइ थियो । आगामी आर्थिक वर्षमा वितरण प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउन उनले मन्त्रालयलाई सचेत गराए । 

रास्वपाकै अर्का सांसद ज्ञानेन्द्र सिंह महताले सुदूरपश्चिमका किसानले भोगिरहेका समस्या र कृषि उपजको बजारीकरणमा देखिएका जटिलताबारे लिखित जवाफ मागे । कृषिमा युवाको आकर्षण बढाउने योजना, जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असर तथा कृषि अनुसन्धान परिषद् ‘नार्क’बाट विकसित प्रविधि किसानको खेतसम्म पुग्न नसकेको विषयमा उनले १३ बुँदे प्रश्न उठाए । 

त्यस्तै रास्वपाकै सांसद सुरेशकुमार चौधरीले स्पष्ट भू–उपयोग नीति र सिँचाइको दीर्घकालीन खाका नहुँदा कृषि क्षेत्र खुम्चिँदै गएको बताए । अर्गानिक मललाई प्राथमिकता दिने निर्णय कार्यान्वयनमा मन्त्रालय गम्भीर नभएको भन्दै उनले रासायनिक मलमाथिको निर्भरता घटाउन आग्रह गरे ।