
नवलपरासी पूर्वमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गको एस मोडमा आज बिहान करिब पौने ४ बजे दुर्घटनामा परेको हो। प्रहरीका अनुसार चालकले बस नियन्त्रणमा लिन नसक्दा सडकबाट नालामा खसेको थियो।
बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमध्ये जाजरकोटको भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। बाँकी पाँच मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेहरूमा गोरखा गो.न.पा.–९ का ३० वर्षीय हरिशरण थापा, अछाम मंगलसेन नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्र प्रसाद भण्डारी, बर्दिया ठाकुरबाबा नगरपालिका–१ की २० वर्षीया आकृती, बाजुरा स्वामीकार्तिक गाउँपालिका–५ का ३२ वर्षीय पवन बुढा, बर्दिया राजापुर नगरपालिका–९ का २८ वर्षीय सञ्जय थारु र बाजुरा स्वामीकार्तिक गाउँपालिका–१ का २५ वर्षीय प्रेम बम रहेका छन्।
त्यस्तै, ललितपुर कुञ्ज्योसोम गाउँपालिका–५ का २९ वर्षीय अनोज खत्री, बर्दिया बाँसगढी नगरपालिका–७ का ३६ वर्षीय लालबहादुर कार्की, बाँके नेपालगञ्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवान र सल्यान बन्गाड कुपिण्डे नगरपालिका–१ का २१ वर्षीय अनिल बुढाथोकी पनि घाइते भएका छन्।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






Facebook Comments