आठ दशक लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेस अहिले १५औँ महाधिवेशनको संघारमा छ । स्थापनाकालदेखि नै लोकतन्त्र र राजनीतिक परिवर्तनका आन्दोलनमा निर्णायक भूमिका खेल्दै आएको कांग्रेसले अहिलेसम्म अनेकौँ उतारचढाव पार गरेको छ । महाधिवेशनले नेतृत्व मात्रै चयन गरेको छैन, पटक–पटक पार्टीको राजनीतिक दिशा र मुलुककै राजनीतिक यात्रासमेत प्रभावित पारेको छ ।

२००३ सालमा स्थापना भएको नेपाली कांग्रेस नेपालको राजनीतिक इतिहासमा सबैभन्दा लामो समयदेखि सक्रिय प्रमुख राजनीतिक शक्तिमध्ये एक हो । स्थापनादेखि नै राणा शासनविरुद्धको संघर्षलाई राजनीतिक एजेन्डा बनाएको कांग्रेसले त्यसयता सात दशकभन्दा बढी समय पार गरिसकेको छ । यो अवधिमा कांग्रेसले अनेकौँ महाधिवेशन, नेतृत्व परिवर्तन, विभाजन, पुनःएकीकरण र राजनीतिक संघर्ष व्यहोरेको छ ।

कांग्रेसको महाधिवेशन यात्रा २००३ सालबाटै सुरु हुन्छ । भवानीपुर, कलकत्तामा भएको पहिलो महाधिवेशनदेखि बनारस, दरभंगा र कलकत्तासम्म कांग्रेसका प्रारम्भिक अधिवेशन भारतमै भएका थिए । २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भएपछि नेपाली कांग्रेसको राजनीतिक यात्रा थप संगठित बन्यो ।

त्यसपछि २००९ सालमा जनकपुरमा पाँचौँ महाधिवेशन भयो । २०१२ सालमा वीरगञ्जमा भएको छैटौँ महाधिवेशनले सुवर्णशमशेर राणालाई सभापति चयन गर्‍यो । २०१४ सालमा विराटनगरमा विशेष महाधिवेशन भयो भने २०१७ सालमा काठमाडौंमा सातौँ महाधिवेशन सम्पन्न भयो । तर त्यसै वर्ष राजा महेन्द्रले निर्वाचित सरकार अपदस्थ गरी पञ्चायती व्यवस्था सुरु गरेपछि कांग्रेसको नियमित महाधिवेशन यात्रा लामो समयका लागि रोकियो ।

पञ्चायतकालमा प्रतिबन्धित राजनीतिक गतिविधि र निर्वासनबीच कांग्रेसले संघर्ष जारी राख्यो । बहुदलीय व्यवस्था पुनःस्थापनापछि मात्रै २०४८ सालमा झापामा आठौँ महाधिवेशन भयो । त्यसपछि २०५३ सालमा काठमाडौंमा नवौँ, २०५७ सालमा पोखरामा दशौँ र २०६२ सालमा काठमाडौंमा एघारौँ महाधिवेशन सम्पन्न भए । यी तीनै महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला सभापति निर्वाचित भए ।

तर कांग्रेसको इतिहास महाधिवेशनको नियमित यात्रामात्र होइन । २०५९ सालमा सभापति गिरिजाप्रसाद कोइराला र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको राजनीतिक विवाद उत्कर्षमा पुगेपछि कांग्रेस विभाजित भयो । देउवा पक्षले नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्‍यो । त्यसपछि केही समय कांग्रेस दुई धारमा विभाजित रह्यो ।

२०६२–६३ को जनआन्दोलन, लोकतान्त्रिक परिवर्तन र बदलिँदो राजनीतिक परिस्थितिसँगै दुई कांग्रेसबीच पुनःएकीकरण भयो । एकीकृत कांग्रेसले २०६७ सालमा काठमाडौंमा १२औँ महाधिवेशन गर्‍यो । यही महाधिवेशनबाट सुशील कोइराला सभापति निर्वाचित भए ।

२०७२ सालको १३औँ महाधिवेशनले भने कांग्रेस नेतृत्वमा अर्को महत्वपूर्ण परिवर्तन गर्‍यो । काठमाडौंमा सम्पन्न महाधिवेशनबाट शेरबहादुर देउवा सभापति निर्वाचित भए । त्यसको पाँच वर्षपछि हुनुपर्ने महाधिवेशन कोरोना महामारीलगायतका कारण प्रभावित हुँदै २०७८ सालसम्म पुग्यो । १४औँ महाधिवेशनबाट देउवा दोस्रोपटक सभापति निर्वाचित भए ।

कांग्रेसको इतिहासमा २०८२ सालको विशेष महाधिवेशन नेतृत्व परिवर्तनको महत्वपूर्ण मोडका रूपमा दर्ज भएको छ । काठमाडौंको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनले गगनकुमार थापालाई पार्टी सभापतिमा चयन गर्‍यो । सभापतिका लागि थापाको मात्रै उम्मेदवारी परेपछि उनलाई निर्वाचित घोषणा गरिएको थियो । साथै विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति तथा प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री चयन भए ।

विशेष महाधिवेशनअघि कांग्रेसभित्र नियमित महाधिवेशनको मिति, पार्टी सञ्चालन र नेतृत्वको विषयलाई लिएर विवाद चर्किएको थियो । ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार विशेष महाधिवेशन बोलाउनुपर्ने विधानको व्यवस्थालाई लिएर थापा पक्षले दबाब बढाउँदै आएको थियो । तीन दिनसम्म सहमतिको प्रयास भए पनि समझदारी नबनेपछि नयाँ केन्द्रीय कार्यसमिति चयन गरिएको थियो ।

विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि कांग्रेसभित्रको विवाद औपचारिक विभाजनसम्म पुगेको थियो । त्यसपछि निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई अद्यावधिक गर्ने निर्णय गरेको थियो ।

कांग्रेसको महाधिवेशन इतिहासमा नेतृत्व परिवर्तनसँगै पुस्तान्तरणको बहस पनि निरन्तर चल्दै आएको छ । बीपी कोइरालादेखि मातृकाप्रसाद कोइराला, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै शेरबहादुर देउवासम्म नेतृत्व पुगेको छ । प्रत्येक महाधिवेशन कांग्रेसभित्रको शक्ति सन्तुलन परिवर्तन गर्ने प्रमुख राजनीतिक मञ्च बन्दै आएको छ ।

अब कांग्रेस १५औँ महाधिवेशनको चरणमा छ । स्थापनाको आठ दशक नजिक पुग्दा कांग्रेसका लागि यो महाधिवेशन नेतृत्व चयनको नियमित प्रक्रिया मात्रै होइन, बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीको आगामी दिशा तय गर्ने अवसरका रूपमा हेरिएको छ । विगतका महाधिवेशनले कांग्रेसको नेतृत्व र राजनीतिक दिशा परिवर्तन गर्दै आएको अवस्थामा १५औँ महाधिवेशनले पनि कांग्रेसको आगामी यात्रामा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।

राणा शासनविरुद्धको संघर्षदेखि गणतन्त्रसम्मको राजनीतिक यात्रामा कांग्रेसका महाधिवेशन आफैँमा इतिहासका महत्वपूर्ण दस्तावेज हुन् । सात दशकभन्दा लामो महाधिवेशन यात्रामा कांग्रेसले नेतृत्व मात्रै परिवर्तन गरेको छैन, हरेक राजनीतिक मोडमा आफ्नो संगठन र रणनीतिसमेत पुनर्परिभाषित गर्दै आएको छ । अबको १५औँ महाधिवेशनले कांग्रेसको आगामी राजनीतिक यात्रालाई कुन दिशामा अघि बढाउँछ, त्यसका लागि महाधिवेशन निर्णायक मञ्च बन्नेछ ।