काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । बन्दसत्रमा पार्टीका उपसभापति विश्वप्रकाश शर्माले ‘लोकतान्त्रिक संस्कृतिमा क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ शीर्षकको प्रतिवेदन प्रस्तुत गर्दैछन् ।
शर्माको प्रतिवेदनमा कांग्रेसभित्रको लोकतान्त्रिक संस्कृतिमा देखिएको क्षयलाई सम्बोधन गर्दै पार्टीलाई युगानुकूल रूपान्तरण गर्ने उद्देश्यसहित १५ वटा सार्वजनिक संकल्प प्रस्ताव गरिएको छ ।
प्रतिवेदनमा कांग्रेसले व्यक्ति केन्द्रित राजनीति नगर्ने, स्थायी गुटबन्दीलाई संगठन सञ्चालनको आधार नबनाउने र एउटै व्यक्तिले प्रभावका आधारमा पटक–पटक पद दोहोर्याउने प्रवृत्तिको अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै, विचार र सिद्धान्तलाई अवसरअनुसार परिवर्तन नगर्ने तथा पहुँच र प्रभावका आधारमा उम्मेदवारीलाई प्राथमिकता नदिने उल्लेख गरिएको छ ।
पार्टी नेतृत्व, सदस्य र समितिका गतिविधिमा अपारदर्शिता स्वीकार नगर्ने भन्दै कांग्रेसले नागरिक जनादेशलाई अहंकारमा परिणत नगर्ने संकल्पसमेत गरेको छ । चुनावी घोषणापत्रलाई निर्वाचनपछि बिर्सिने दस्तावेजका रूपमा सीमित नगरी त्यसको कार्यान्वयनलाई प्राथमिकता दिने प्रतिबद्धता पनि प्रतिवेदनमा समेटिएको छ ।
कानुनी प्रक्रियामा राजनीतिक संरक्षणको विसंगति स्वीकार नगर्ने र सार्वजनिक पदलाई निजी लाभको माध्यम नबनाउने कांग्रेसको संकल्प छ । त्यस्तै, सामाजिक सञ्जाललाई पार्टीभित्रको आन्तरिक विवादको अखडा नबनाउने विषयलाई पनि प्रतिवेदनमा जोड दिइएको छ ।
शर्माको प्रतिवेदनले योग्य युवालाई उमेरकै कारण नेतृत्वको प्रतीक्षामा सीमित नराख्ने र समावेशितालाई केवल संख्यामा सीमित नगर्ने नीति अघि सारेको छ । योगदानको कदर गर्ने तर त्यसलाई मात्र नेतृत्वको योग्यताको आधार नबनाउने तथा क्षणिक राजनीतिक स्वार्थभन्दा संस्था, विचार र लोकतान्त्रिक मूल्यलाई माथि राख्ने प्रतिबद्धता पनि कांग्रेसले व्यक्त गरेको छ ।
प्रतिवेदनमा प्रस्तावित १५ सार्वजनिक संकल्पले कांग्रेसभित्र लामो समयदेखि बहसमा रहेका व्यक्ति केन्द्रित राजनीति, गुटबन्दी, नेतृत्व दोहोरिने प्रवृत्ति, अपारदर्शिता, राजनीतिक संरक्षण र युवाको नेतृत्वमा पहुँचजस्ता विषयलाई सुधारको एजेन्डाका रूपमा अघि सारेको छ ।



Facebook Comments