
नेपाली कांग्रेसको बन्दसत्रमा नीतिगत बहस चलिरहँदा कांग्रेसको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया पनि अघि बढेको छ । केन्द्रीय निर्वाचन समितिले सभापतिदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारी दर्ताका लागि शुल्कसमेत निर्धारण गरेको छ । सभापतिमा उम्मेदवारी दिन ४० हजार रुपैयाँ शुल्क तोकिएको छ भने उपसभापति र महामन्त्रीका लागि ३० हजार तथा सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । केन्द्रीय सदस्य पदका लागि भने ११ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
उम्मेदवारी दर्ताका लागि प्रस्तावक र समर्थकको संख्या पनि निर्धारण गरिएको छ । सभापतिका लागि १०–१० जना प्रस्तावक र समर्थक आवश्यक पर्नेछ । उपसभापति र महामन्त्रीका लागि ७–७ जना तथा सहमहामन्त्रीका लागि ५–५ जना प्रस्तावक र समर्थक अनिवार्य गरिएको छ । केन्द्रीय सदस्यका लागि भने ३–३ जना प्रस्तावक र समर्थक आवश्यक पर्ने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार सोमबार साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ । त्यसपछि दाबीविरोध, जाँचबुझ र अन्तिम मतदाता नामावली प्रकाशनको प्रक्रिया अघि बढ्नेछ । असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ । सोही दिन उम्मेदवारको प्रारम्भिक तथा दोस्रो नामावली प्रकाशन, दाबीविरोध र जाँचबुझको प्रक्रिया पूरा गरिनेछ ।
असोज २१ गते बिहान उम्मेदवारी फिर्ता तथा सच्याउने समय तोकिएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र दिनभर प्रचारप्रसार गर्न पाउने व्यवस्था गरिएको छ । असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।
मतदानका लागि तीन स्थान तोकिएका छन् । राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट आएका प्रतिनिधिका लागि मतदान केन्द्र रहनेछ । प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
यसरी कांग्रेसको १५औँ महाधिवेशनमा एकातिर पार्टीभित्रको लोकतान्त्रिक संस्कृतिमा सुधार र युगानुकूल रूपान्तरणको बहस चल्नेछ भने अर्कोतर्फ नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया निर्णायक चरणमा प्रवेश गर्नेछ । विश्वप्रकाश शर्माको १५ संकल्पले उठाएका सुधारका एजेन्डा र महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले त्यसलाई कसरी कार्यान्वयन गर्छ भन्ने विषय भने कांग्रेसको आगामी राजनीतिक यात्राका लागि महत्वपूर्ण बन्ने देखिन्छ ।



Facebook Comments