
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने चुनावको तयारी सुरू भएको जानकारी दिएको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मौजुदा कानुनअनुसार चुनावको तयारी सुरू गरेको बताए।
तर, आवश्यक कतिपय नयाँ प्रावधानका लागि सरकारसँग सहकार्य गरेर अघि बढ्ने उनले बताए। 'घोषणा भएको मितिमा चुनाव सम्पन्न गराउन हामीले तयारी सुरू गरिसकेका छौं। त्यसका लागि आवश्यक सरसामानहरूको अध्ययन गर्ने काम भइरहेको छ। सबै विषयको अध्ययनपछि निर्वाचन कार्यतालिका बनाएर दल दर्तालगायतका काम सुरू गर्छौं,' प्रवक्ता भट्टराईले भने।
प्रवक्ता भट्टराईले चुनावको तयारी र आवश्यक कानुनका लागि सरकार र आयोगका पदाधिकारीबीच छलफल भइरहेको बताए। 'निर्वाचनसम्बन्धी नयाँ कानुन पास भइसकेको अवस्था छैन। त्यसैले मौजुदा कानुनअनुसार नै काम सुरू गरेका छौं। सरकार र आयोगका पदाधिकारीबीच छलफल पनि भइरहेको छ। सरकारले केही नयाँ व्यवस्था गरेको खण्डमा त्यसलाई आयोगले कार्यान्वयन गर्छ,' उनले भने।







Facebook Comments