काठमाडौं । अर्थ मन्त्रालयले नेपाल बिमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझालाई तत्काल हाजिर नगर्न/नगराउन निर्देशन दिएको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको भन्दै ओझा भदौ ३१ गते बेलुका प्राधिकरण पुगेका थिए ।

तर, मन्त्रालयमा अदालतको पत्र नआएकाले उनलाई तत्काल हाजिर नगराउन प्राधिकरणमा पत्राचार गरिएको अर्थका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए । “अदालतबाट आधिकारिक पत्र अर्थ मन्त्रालयमा आएको छैन । निलम्बित भएका अध्यक्षले प्राधिकरणमा हाजिर गरिरहेको भन्ने कुरा जानकारीमा आयो,” उनले बाह्रखरीसित भने, “तत्काल हाजिर नगराउन/नगर्न प्राधिकरणलाई अर्थ मन्त्रालयले पत्र आजै (बिहीबार) काटेको छ ।”

ओझालाई बर्खास्त गरेर मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई अर्को व्यवस्था नभएसम्मका निम्ति अध्यक्षको जिम्मेवारी दिएको छ । केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारले बर्खास्त गरेपछि उनी सर्वाेच्च गएका थिए । भदौ २३ मा सर्वाेच्चका न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले यही असोज २६ गतेसम्मका निम्ति अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

अर्थ मन्त्रालयले नयाँ अध्यक्ष नियुक्त गर्न सातदिने सूचना जारी गरी आवेदन समेत खुलाएको थियो । प्राधिकरणको अध्यक्ष हुन १४ इच्छुकले आवेदन दिएका थिए । तर, सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशपछि नयाँ अध्यक्ष छनोट गर्ने प्रक्रिया रोकिएको छ ।