_14mNbxKrwy.jpg)
काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा ठुलो सङ्ख्यामा हतियार लुटपाट भएको भेटिएको छ । प्रदर्शन नियन्त्रण बाहिर गएपछि उच्छृङ्खल समूहले भदौ २४ मा देशभरबाट हतियार लुटपाट गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा समिति बनाएर लुटिएका हतियारहरूको तथ्याङ्क सङ्कलन गरिरहेको छ । हतियारको विवरण सङ्कलन गर्ने समितिको नेतृत्व अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मीले गरेका छन् ।
काठमाडौँ उपत्यका र उपत्यका बाहिरका युनिटबाट लुटपाट र आगजनीका कारण करिब ११ सय थान हतियार हराएको आईजीपीले गृहमन्त्रीलाई रिपोर्टिङ गरेका छन् । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार प्रहरीका युनिट इन्चार्जहरूलाई निर्देशन दिने क्रममा ११ सय थान हतियार हराएको उल्लेख गरे ।
प्रदर्शनमा एसएलआर, पेस्तोल, ग्याँस गन, थ्रीनटथ्री राइफल, एसएमजी, हर्नेट र ट्वान्टीटु म्याग्नम लगायतका हतियार लुटिएको प्रहरी अधिकृतहरू बताउँछन् । जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहतका वृत्तहरूबाट पनि ठुलो सङ्ख्यामा हतियार लुटिएको छ ।
सशस्त्रको एसएलआर भक्तपुरमा बेवारिसे अवस्थामा फेला
हराएका हतियारको विवरण तयार गर्ने काम भइरहेको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले बताए । उनले भने, ‘समिति गठन गरेर हराएका हतियारको विवरण सङ्कलन गर्दै छौँ ।’
लुटिएका मध्ये १६० थान हतियार भेटिएको छ । प्रहरीका युनिटहरू आगजनी हुँदा केही हतियार जलेको अवस्थामा पनि फेला परेका छन् । सशस्त्र प्रहरी बल र प्रहरीबाट लुटिएको हतियार सेनाले पनि बरामद गरेर बुझाएको छ । अहिलेसम्म देशभरबाट २६८ नाल हतियार बरामद गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सशस्त्रको कति लुटियो ?
जेनजी प्रदर्शनको क्रममा बानेश्वरबाट लुटिएको सशस्त्रको एउटा एसएलआर भक्तपुरमा भेटिएको छ । चाँगुनारायण नगरपालिका–९ ब्रम्हायणीमा भेटिएको हतियारमा नम्बर–२० गण २९० लेखिएको छ । सो एसएलआर सशस्त्र प्रहरीको मीनभवन स्थित बेसबाट लुटिएको सशस्त्रका अधिकृतहरू बताउँछन् ।
मिनभवनमा स्थित यातायात व्यवस्था विभाग परिसरमा सशस्त्रको बेस थियो । त्यहाँ एक प्लाटुन सशस्त्र प्रहरी कार्यरत थिए । त्यहाँबाट करिब २० थान एसएलआर र सटगन लुटिएको सशस्त्रका अधिकृतहरू बताउँछन् ।
झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरको सुरक्षामा खटिएको बेसबाट पनि केही हतियार लुटिएको सशस्त्रका अधिकृतहरू बताउँछन् । सशस्त्रका एकजना उच्च अधिकृत भन्छन्, ‘काठमाडौँको मिनभवन र झापाबाट करिब ४० थान हतियार प्रदर्शनकारीहरूले लुटेका थिए ।’ लुटिएको मध्ये १५–२० थान विभिन्न ठाउँबाट बरामद गरिएको ती अधिकृतको भनाई छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले हतियार लुटिएको यकिन तथ्याङ्क सार्वजनिक गरेको छैन । प्रदर्शनमा सशस्त्र प्रहरीको ५० भन्दा बढी सवारी साधनमा आगजनी गरिएको थियो । नयाँ बानेश्वर स्थित संसद् भवन, सिंहदरबार, रानीपोखरी र भैंसेपाटी स्थित मन्त्रीक्वार्टरमा सशस्त्रको गाडीमा आगजनी गरिएको थियो ।







Facebook Comments