
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले क्याबिनेट विस्तार तयारी गरेकी छन् । भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएको दुई दिनपछि तीनजना मन्त्री नियुक्त गरेकी कार्कीले क्याबिनेट विस्तारका लागि छलफल तीव्र पारेकी हुन् ।
उनले राष्ट्रिय अनुसन्धान केन्द्रका सञ्चालक महावीर पुनलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्न प्रस्ताव गरेकी छन् । पुनले पनि शिक्षामन्त्रीको जिम्मेवारी लिन सकारात्मक रहेको जवाफ दिएका छन् । भदौ २३ र २४ गते भएको आन्दोलनपछि जेन-जीको बलमा कार्की प्रधानमन्त्री भएकी हुन् ।
यसअघि कुलमान घिसिङ ऊर्जामन्त्री, ओमप्रकाश अर्याल गृह तथा कानुन मन्त्री र रामेश्वर खनाल अर्थमन्त्री भइसकेका छन् । जेन-जी युवा अनिल बानियाँका अनुसार महावीरले पाँचथरमा रहेकै बेला मन्त्रीका लागि तयार रहेको संकेत गरेका छन् ।
उनले पाँचथर पुगेर किताब बेचिरहेको अवस्थामा मन्त्री बन्ने प्रस्ताव आएपछि सरकारमा सहभागी हुने जनाउ दिइसकेका छन् । किताब बेच्ने क्रममा पाँचथरमा रहेका बेला बेला पुनले मन्त्रालयको अफर आए उपयुक्त जिम्मेवारी सम्हाल्ने बताएका थिए।
यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा सञ्चारकर्मी जगदीश खरेललाई नियुक्त गरिने सम्भावना छ । खरेल इमेज टेलिभिजनका समाचार प्रमुखका रुपमा कार्यरत छन् । मन्त्री बन्न लागेकोबारे खबरहबले प्रश्न गर्दा सञ्चारकर्मी खरेलले आफ्नो नाम चर्चामा आएको स्वीकारेका छन् । उनले मन्त्रीको प्रस्ताव आएको स्वीकार्दै सैद्धान्तिक रुपमा सहयोग गर्न तयार रहेको बताएका छन् ।
‘साथीहरूले धेरै चर्चा गर्नुभएको थियो। मलाई पनि स्रोतबाट सोधिएको पनि हो। मैले सैद्धान्तिक रूपमा सहयोग गर्नुपर्छ भने तयार छु भनेको थिएँ’, उनले भने, ‘मेरो नाममा निर्णय भयो भनेर मलाई खबर आएको छैन।’ खरेलले प्रधानमन्त्रीनिकटबाटै कुरा आएको स्वीकारे । ‘उच्च स्रोतबाटै मसँग कुरा भएको थियो। म पत्रकार भएको नाताले सञ्चार मन्त्रालयमा हो कि भन्ने बुझेको छु तर मलाई फाइनल कुरा थाहा छैन’, उनले भने ।
‘अन्य मन्त्रीको विषयमा छलफल भइरहेको मैले बुझेको छु। सञ्चारमा जगदीश र शिक्षामन्त्रीमा महावीर नियुक्त हुने सम्भावना प्रबल छ’, प्रधानमन्त्रीनिकट बानियाँले भने, ‘हामीले सबै हिसाबले गैरराजनीतिक व्यक्तिलाई मन्त्रालयमा ल्याउने तयारी गरेका छौँ।’
अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले पनि खरेल र पुनको नाम स्वीकारेकी छन्। उनले जेन-जी युवा र विज्ञहरूसँग छलफल गरेर दुईजनाको नाम स्वीकारेकी हुन् । दुई व्यक्तिहरूलाई चाँडै मन्त्री बनाइने स्रोतले बताएको छन ।







Facebook Comments