
विराटनगर । विराटनगर महानगरपालिका–९ धोवियारीकी २९ वर्षीया रागिनी साहमाथि तेजाब प्रहार भएको छ । उनको अनुहारमा देवरले तेजाब प्रहार गरेका हुन् ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार २२ वर्षीय श्रवण साहले घरायसी विवादका क्रममा भाउजू रागिनीमाथि सोमबार बिहान १०:१५ बजेतिर तेजाब प्रहार गरेको खुलेको छ । घटनापछि श्रवण फरार छन् ।
तेजाव प्रहारबाट रागिनीको अनुहारमा चोट लागेको छ । तर, आँखा बचेको छ । उनलाई उपचारका लागि तत्काल विराटनगरस्थित न्युरो अस्पतालमा लगिएको छ । चिकित्सकका अनुसार उपचाररत उनको अवस्था खतरामुक्त छ । लेनदेनसम्बन्धी विवादका क्रममा देवरले भाउजूमाथि तेजाब प्रहार गरेको पाइएको डीएसपी चुँडालले बताइन् ।
घटनापछि फरार रहेका श्रवणको खोजीका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको उनको भनाइ छ । भाउजूलाई तेजाब हानेर श्रवण भारततिर भागेको हुनसक्ने प्रहरीको अनुमान छ ।
तेजाब मानव शरीरका लागि अत्यन्त खतरनाक एवं हानिकारक रसायनिक पदार्थ हो । छालामा लाग्दा पोल्ने, पिल्साउने, दृष्टि गुम्ने र दीर्घकालीन नोक्सान पुर्याउने चिकित्सकहरू बताउँछन् । नेपालको कानुनले तेजाब आक्रमणलाई गम्भीर एवं दण्डनीय अपराध मानेको छ ।







Facebook Comments