
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनःगठनको अपिल गरेका छन् । भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले जेनजी विद्रोहपछि बदलिएको अवस्थालाई मनन् गरी पार्टी पुनःगठनको अभियानमा साथ दिन अपिल गरेका छन्।
‘इतिहासका हरेक संकटका हरेक घुम्ती र मोडहरुमा हामी पुनर्गठित भएको सत्यलाई पनि हामीले मनन् गर्नु जरुरी छ । त्यही स्वीकारोक्ति सहितको अभियानका लागि अपिल समेत गर्दछु,’ उनले भनेका छन्, ‘आत्मभर्त्सना बन्द गरौं, आत्मसमीक्षा डटेर गरौं ।’
संकटका बेला आन्दोलन र पार्टी पुनर्गठन भएका थुप्रै उदाहरण रहेको पनि भट्टराईले उल्लेख गरेका छन् । जस क्रममा १९ माघको घटनापछि एमालेकै पुनर्गठन भएको सन्दर्भ समेत उनले राखेका छन्।
‘१९ माघ २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले संविधान र लोकतान्त्रिक प्रणालीमाथि ‘कू’ गर्दा पनि समाज र पार्टीमा आजको जत्तिकै सन्नटा छाएको थियो । त्यसबेला पार्टीकै युवा पुस्ताले अग्रसता लिएर पार्टी पुनर्गठनको बहस चलायो,’ उनले भनेका छन्, ‘अन्ततः नेकपा एमालेको नवौं महाधिवेशनले पार्टी पुनर्गठनको एजेन्डा स्वीकार गर्यो । पार्टीको आन्तरिक लोकतन्त्रलाई प्रणालीगत रूपमा स्थापित गर्यो । पार्टी बच्यो, आन्दोलन सफल भयो ।’







Facebook Comments